खबर पूर्वाञ्चल
प्रदेश १ को विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेका ६ महिला र ६ पुरुषको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३, धरानमा ३, नोबेल शिक्षण अस्पतालमा २, विराट नर्सिङ होम २ , न्युरो, र मोरङ सहकारीमा १–१ जनाको मृत्यु भएको छ ।
मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको आज बिहान ५ः३० बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा आइतबार रिपोर्ट पोजेटिभ आएकी उनलाई त्यही दिन उपचारका लागि भर्ना गरिएको थियो ।
त्यस्तै विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धा महिलाको कोशीमै आज विहान ४ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार उपचारका लागि भर्ना गरिएको थियो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ ६ः३० बजेतिर कोशी कोभिडमै मृत्यु भएको छ । केही दिनअघि पीसीआर परीक्षण गराएका उनी रिपोर्ट पोजेटिभ आएपछि घरमै होम आइसोलेसनमा रहेको बस्नेतले बताए । उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि सोमबार दिउँसो पुरुषलाई उपचारका लागि कोभिड अस्पताल ल्याइएको हो ।
यता मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा विराट नर्सिङ होम एवं अस्पताल प्रालिमा मृत्यु भएको छ । असोज २८ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा ग्राह्रो हुने समस्या रहेका उनको मृत्यु सोमबार राति १२ बजेतिर भएको हो ।
विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक वृद्धा महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको आज बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । असोज १५ गते कोरोना पुष्टि भएकी उनलाई असोज २४ गते न्युुरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
त्यस्तै विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिलाको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा आज बिहान ८ बजेतिर उनको ज्यान गएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । असोज २६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि गत शनिबार अस्पताल भर्ना गरिएको दाहालको भनाइ छ ।
त्यस्तै मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा ७६ वर्षीया संक्रमित वृद्ध महिलाको आव बिहान ८ः५० बजेतिर मृत्यु भएको छ । अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार झापाको विर्तामोड नगरपालिका–४ की महिलाको उपचारका क्रममा ज्यान गएको हो । कोरोना पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको जानकारी उनले दिए ।
आजै रंगेली नगरपालिका– ४ की ८१ वर्षीया वृद्धाको मोरङ सहकारीमा मृत्यु भएको छ । उनलाई २७ असोजमा मोरङ सहकारी अस्पतालमा भर्ना गरिएको थियो । ३० गते संक्रमण पुष्टि भएको थियो ।
इटहरीका ६५ वर्षीय पुररुषको आज नोवेलमा मृत्यु भएको छ । ती पुरुगालाई असोज २९ गते अस्पताल भर्ना गरिएकोमा कार्तीक १ गते कोरोना पोजेटिभ देखिएको हो ।
धरान–३ का ७२ वर्षीय, धरान–१७ का ६८ वर्षीय र इटहरी उपमहानगरका ५६ वर्षीय पुरुषको सोमबार नै मृत्यु भएको भएपनि प्रतिष्ठानले आज मात्र सार्वजनिक गरेको हो ।
प्रतिष्ठानका सह–प्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार ७२ वर्षीय पुरुषको असोज २९ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । कोभिड अस्पतालमा बेड अभाव भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा जटिलता देखिएपछि उनलाई कात्तिक ३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी उच्च रक्तचापको समस्या रहेका धरान–१७ का ६८ वर्षीय पुरुषमा असोज २८ गते कोरोना पोजिटिभ देखिएको थियो । उनलाई कात्तिक ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
इटहरीका पुरुषलाई कात्तिक १ गते कोरोना पुष्टि भएपनि अस्पतालमा बेड अभावले होम आइसोलेसनमा बसेका थिए । त्यही क्रममा उनलाई श्वासप्रश्वासमा जटिलता देखिएपछि ३ गते नै भर्ना गरिएको थियो ।
आज धरानमा थप २ सय ८५ जना संक्रमित थपिएका छन् । तीन दिनअघि स्वाब संकलन गरेर प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पठाइएका नमुना परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण देखिएको हो ।