विराटनगर, माघ २८ / ज्यान मार्ने उद्योगमा फरार रहेका जयराज लिम्बूलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिक केन्द्रीय सदस्य समेत रहेका लिम्बूलाई ब्युरोको टोलीले शुक्रबार सुनसरीको इटहरीबाट पक्राउ गरेको हो । लिम्बूलाई पक्राउ गरी ब्युरो टोलीले सुनसरी जिल्ला अदालत बुझाएको थियो ।
लिम्बुलाई मोरङ जिल्ला बयरवन गाविस ७ का शेखर राईलाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा सर्वोच्च अदालतले पाँच वर्ष सजाय सुनाएको थियो । अदालतले लिम्बुलाई शुक्रबारै झुम्का कारागार चलान गरेको छ । केही दिनदेखि लिम्बूको खोजीका लागि ब्युरोको टोली त्यसतर्फ गएको थियो ।
०५२ सालमा दर्ता भएको लिम्बूसमेत रहेको ज्यान मार्ने उद्योगको मुद्दामा लामो सुनुवाइपछि सर्वोच्च अदालतले पाँच वर्ष सजाय फैसला गरे पनि उनी राजनीतिक दलको संरक्षणमा खुलमखुल्ला हिडिरहेका थिए । लिम्बुसहित टंक पराजुली र ठाकुरसिंह लिम्बूलाई अदालतले २०६६ भदौ १ गते जनही पाँच वर्ष कैद फैसला सुनाएको थियो ।