AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका प्रतिष्ठित उद्योगी राउत उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ मंसिर २०७७, बिहीबार १८:२२
1.38k
Shares
विराटनगर / विराटनगरका प्रतिष्ठितउद्योगी राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश–१ बाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश १ बाट राउतको मात्रै उमेद्वारी परेपछि आज राउत निर्विरोध निर्वाचित भएका हुन् । आज उमेद्वारी मनोनयन गर्ने अन्तिम मितिसम्म कसैले उमेद्वारी दर्ता नगरेसँगै उनलाई निर्वाचित घोषणा गरिएको थियो । २१ वर्षको उमेरमा सन १९८५ मा तत्कालीन सांग्रिला इन्टरनेशनल एपारल्समा प्रबन्ध निर्देशकका रुपमा व्यावसायिक क्षेत्रमा पाइला सुरु गरेका उनको लगानीमा राउत कन्ट्रक्सन, शिवं फुटवेयर प्रालि, अन्नपूर्ण सिमेन्ट उद्योग, स्वस्तिक रोलिङ मिल, शिव ओम मल्टिपर्पोज प्रालि, शिव ओम अटो सेन्टरलगायत आधा दर्जनभन्दा बढी उद्योग व्यवसाय सञ्चालनमा छन् । त्यसबाहेक चुन ढुंगा उत्खनन्का साथै हेटौंडा र विराटनगरमा पेट्रोलपम्प पनि सञ्चालनमा रहेका छन् । फलाम तथा स्टील उद्योग र पाँचतारे होटल सञ्चालनको तयारीमा रहेका राउत सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन् । व्यावसायिक क्षेत्रमा उनले हासिल गरेका अनुभव नयाँ पुस्ताका लागि उदाहरणीय बन्दै आएको छ ।

नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ व्यापार संघको कार्यसमिति सदस्य हुँदै वरिष्ठ उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ को हाल जिल्ला नगर उद्योग वाणिज्य संघतर्फको उपाध्यक्ष पदमा रहेका राउतले प्रतिष्ठित विराट गोल्डकप फुटबल प्रतियोगितालाई ऐतिहासिक रुपमा सफल बनाउन दुई पटक नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

यसैगरी विभिन्न शैक्षिक संस्था, खेलकुद क्षेत्रलगायतमा राउतले त्यस्ता संस्थाको समृद्धिका लागि सहयोग गर्दै आएका छन् । पुख्र्यौली थलो भोजपुर भए पनि हाल विराटनगरमा स्थायी बसोबास गर्दै आएका राउतका मोरङ, सुनसरी, उदयपुर, मकवानपुरलगायत अन्य विभिन्न जिल्लाहरूमा समेत व्यवसायमा सक्रिय छन् । ती जिल्लाहरूमा समेत सामाजिक काममा महत्वपूर्ण भूमिका खेल्दै आएका छन राउत ।

बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिका बेला समस्यामा परेकाहरूलाई उनको सहयोग निरन्तर रहँदै आएको छ । कोभिड–१९ को विपत्तिमा पनि उनले स्थानीय, प्रदेश सरकार र अन्य विभिन्न क्षेत्रहरूमा आर्थिक सहयोग गरी मानवीय सेवामा उदाहरणीय कार्य गर्दै आएका छन् ।

निर्विरोध निर्वाचित गराउन भूमिका खेल्ने सबैप्रति राउतले आभार व्यक्त गरेका छन् । “मलाई निर्विरोध बनाउन जसले जहाँजहाँबाट भूमिका खेल्नुभयो उहाँहरू सबैलाई धन्यवाद दिन्छु,” उनले भने, “सबैको साथ र सहयोगले मात्र महासंघ अगाडि बढ्न सक्छ । त्यसका लागि चुनावमा भएका तिक्ततालाई भुलेर समग्र उद्योगी व्यवसायीको हितमा लाग्नुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर