MERRYLAND
KANTIPUR COLLEGE

ओली समुहको एमाले मोरङमा पछिल्लो निर्णयले एकता प्रकृया भाँड्न खोजिएको नेपाल पक्षको आरोप

खबर पूर्वाञ्चल, २५ असार २०७८, शुक्रबार ०८:०१
1.45k
Shares

विराटनगर । नेकपा एमालेमा देखा परेको आन्तरिक विवाद समाधान गरी एकतावद्ध पार्टी बनाउने प्रयत्न भइरहेको बेला त्यसलाई भाँड्ने गरी एमालेको केपी ओली समूहले मोरङमा पार्टीको गतिविधि अगाडि बढाएको अर्को पक्षले आरोप लगाएको  समाचार आजको हाम्रोमत दैनिक पत्रिकाले छापेको छ ।

बुधबार नेकपा एमाले मोरङको बैठक बसेर साउन १० गतेभित्र सबै पार्टी सदस्यहरुको सदस्यता नविकरण गरिसक्न पालिका कमिटीहरुलाई निर्देशन दिएको थियो ।

नेकपा एमालेमा सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा माओवादीसँगको एकता पूर्वको संगठन संरचना क्रियाशिल बनाउनु पर्ने माग राखेर वरिष्ठ नेता माधवकुमार नेपाल समूहले असहमति राख्दै आएको छ ।

पछिल्लो समयमा जारी वार्ता र छलफलहरु जेठ २ गतेको संरचनामा फर्किने विषयमा करिव सहमतिको नजिक पुगेको बेला त्यसलाई प्रभावित पार्ने गरी निर्णयहरु गर्ने कामले एकताको वातावरण बन्ने भन्दा भाँडिने नेता महेश रेग्मीले बताएका छन् ।

नेता रेग्मीले भन्छन् ‘अहिले नेकपा एमालेको नाममा भएको निर्णय र अधिवेशन लगायतका प्रकृयासँग सम्बन्धित निर्णयहरु अवैधानिक छन् । अदालतको फैसला अनुसार जेठ २ को संरचनामा रहेर पार्टीको एउटै बैठक बसेको छैन । फागुन २८ पछि ओली समूहले गठन गरेको आयोजक कमिटीको संरचनाले गरेको निर्णयलाई सर्वोच्च अदालतले नै मान्यता नदिएको हुँदा पार्टी सदस्यता नविकरण गर्ने, वार्ड तथा गाउँ÷नगरको अधिवेशनको कुरा पार्टीको निर्णय अन्तरगत भएका होइनन् । माथि वार्ता र छलफल भइरहेको बेला हतारमा यस्तो निर्णय गर्दै हिड्नु त्रुटिपूर्ण छ । कुनै सल्लाह, छलफल नगरी गरिएका यस्ता निर्णयले एकताको वातावरण बनाउँदैन बरु भाँड्छ ।’

नेकपा एमाले मोरङले साउन १० गतेभित्र सबै पार्टी सदस्यहरुलाई सदस्यता नविकरण गरिसक्न निर्देशन गरेको छ । नेकपा एमाले मोरङको संगठन विभागको बुधबार बसेको वैठकले जिल्लाका सवै पालिका कमिटीहरुलाई यस्तो निर्देशन गरेको हो ।

नेकपा एमाले मोरङमा माओवादी केन्द्रसँग एकता पूर्व २३ हजार पार्टी सदस्य थिए । माओवादीसँग एकता गरेपछि ३६ हजार पार्टी सदस्य पुगेका थिए । २०७२ सालमा भएको जिल्ला अधिवेशन पछि कसैको पनि पार्टी सदस्यता नविकरण गरिएको छैन । माओवादी र एमालेलाई अदालतको फैसलाले अलग गराइदिएपछि करिव एमालेसँग कति सदस्य कायम छन् भन्ने यकिन विवरण पनि छैन । नेकपा एमालेले प्रतिवर्ष २४० रुपैयाँका दरले सदस्यता नविकरण शूल्क लिने गरेको थियो ।

अहिले पार्टी सदस्यता नविकरण गर्दा हरेक सदस्यले एकमुष्ठ १ हजार ६४० रुपैयाँ तिर्नुपर्छ । कोरोना महामारीबाट प्रभावित भएका सदस्यहरुसँग एकमुष्ठ यतिठूलो रकम तिरेर सदस्यता नविकरण गर भन्ने नैतिक बल पार्टीसँग नभएकोले त्यस विषयमा छलफल गरेर मात्र अघि बढ्नु पर्ने पूर्व जिल्ला अध्यक्ष रेग्मी बताउँछन् । त्यो भन्दा अघि पार्टीको आन्तरिक विवाद समाधान गरेपछि मात्र यस्तो विषय अगाडि बढाउनु उपयुक्त हुने उनले बताए ।

संगठन विभाग प्रमुख महेश भट्टराईको अध्यक्षतामा बसेको वैठकमा केन्द्रिय सर्कुलरको समेत जानकारी गराउँदै नेकपा एमालेका मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले निर्धारित समयभित्र सदस्यता नविकरण तथा अधिवेशनहरु सम्पन्न गर्न निर्देशन दिए । पालिका कमिटीका अध्यक्ष र सचिवहरुसमेतको सहभागिता रहेको वैठकले पार्टी सदस्यता नविकरण साउनको १० गतेभित्र जिल्ला पार्टी कार्यालयमा बुझाउन निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

SAGARMATHA
GREENLAND
Export
ORCHID
ARNIKO
Arya-hospital-add-banner
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५