विराटनगर,माघ १९ / स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनमा काठमाण्डौ पछिको बढि महत्व दिएर हेरिन्थ्यो विराटनगरको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस ।
हरेक विद्यार्थी संगठनले काठमाण्डौ पछि प्रथमिकतामा राख्ने मध्येको एक महेन्द्र मोरङ क्याम्पसमा स्ववीयु निर्वाचनको मिति नजिकिदै जादा चुनावी सरगर्मी खासै बढेको छैन ।
फागुन १४ गते हुने निर्वाचनकालागि त्रिभूवन विश्वविद्यालयले चुनावी कार्यतालिका सार्वजनिक गरेपनि विद्यार्थी राजनीतिको केन्द्र मानिने महेन्द्र मोरङ क्यापसमा सरगर्मी अझै सुरु भएको छैन । ९ बर्ष देखि हुन नसकेको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपनि २८ बर्षे उमेर हदबन्दीका कारण सधै जस्तौ सरगर्मी नबढेको हो ।
२८ बर्षे उमेर हदबन्दी लागेपछि बर्षाै देखि क्याम्पस रुगेर राजनीति गरिरहेका विद्यार्थी नेताहरु बाहिरिएका छन् ।
स्ववियु निर्वाचन घोषणा भएपछि नया विद्यार्थीहरुमा रौनकता छ । तर सभापति बन्ने आसमा एक दशक यता क्याम्पस रुगेर राजनीति गरिरहेका नेताहरु भने क्याम्पस आउन छाडेका छन् ।
क्याम्पसमा करिव एक दशक यता राजनीति गरिरहेका विद्यार्थी नेता देवा यादव, दिपेन्द्र मेहता, केशव गिरी, दिनानाथ आचार्य, गोकर्ण घिमिरे उमेरहदका कारण चुनावी मैदान बाहिरिए । चुनाव घोषणा हुन अघि बेला बेला क्याम्पस पुग्ने ‘भेट्रान’ नेताहरु हिजोआज जान छाडेका छन् ।
‘२८ बर्षे उमेर हद हाम्रो एजेण्डा हो । अखिल क्रान्तिकारीका नेता दिपेन्द्र मेहता भन्छन् ‘ लामो समय सम्म राजनीतिक गरेपनि उठन नपाउदा दुःख लागेको छ । तर हाम्रो एजेण्डा स्थापित भएकोमा खुसी छु ।’
स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा उम्मेदवार बन्नका लागि २८ वर्षे उमेर हद तोकेस“गै विद्यार्थी उमेर सकिएपनि सभापति बन्ने आसमा बसेका नेतालाई उमेर हद लागेस“गै केही विद्यार्थी संगठनलाई स्ववियुमा उठने नेता छनोट गर्न समेत समस्या परेको छ ।
एमाले निकट अनेरास्ववीयु मोरङ अध्यक्ष गोकर्ण घिमिरे उमेरहदले राजनीतिक रुपमा सक्षम नेतृत्व ल्याउन समस्या भएको बताउछन् । उमेरहद लागेका कारण राजनीतिक रुपमा परिपक्क नेतृत्व बाहिरिएपछि नया अनुहारलाई अवसर दिनु पर्ने बाध्यता आएको उनको भनाई छ । घिमिरे २०६५ सालको जस्तो चुनावी सरगर्मी नभएको बताउछन् ।
२०६५ सालमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनबाट सदस्यमा निर्वाचित घिमिरे मोरङ क्यामपस सभापतिका प्रत्यासी थिए । तर उनी केही महिनाका कारण चुनावी मैदानमा प्रवेश गर्न पाएनन् ।
कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता केशव गिरी उमेरहदले लामो समय देखि गरेको मेहनत बेकार भएको बताउछन् । महेन्द्र मोरङमा उनी करिव एक दशक यता राजनीतिमा क्रियासिल थिए ।
उमेरहद नलागेको अवस्थामा स्वत नेविसंघबाट सभापतिको उमेरद्धावर दावेदार उनी २८ बर्षे हदले गर्दा चुनावी मैदानबाट बाहिरिए । स्ववियूमा उमेरहद लागेपछि उनी पार्टीको राजनीतिमा लाग्ने योजना रहेको बताउछन् । स्ववियु निर्वाचन २०६५ मा सदस्यमा निर्वाचित गिरी पनि उमेर हद लागेपछि हिजोआज पिडामा छन् ।
नेविसंघबाट मोरङ क्याम्पसमा लामो समय बस्ने अर्का नेता हुन दिनानाथ आचार्य । उनलाई पनि उमेर हदले मैदान बाहिर राख्यो । सभापतिको आकाक्षा सहित महेन्द्र मोरङमा क्रियासिल रहने उनी क्याम्पस आउन छाडेका छन ।
माओवादी निकट अखिल क्रान्तिकारीका नेता देवा यादवपनि सभापति उमेद्धवारकालागि ‘एक्सपायर’ भए । महेन्द्र मोरङमा २०५७ सालदेखि राजनीति गरेका यादव अव विद्यार्थी राजनीतिको केन्द्रीय तहमा जाने योजना रहेको बताउछन् ।
महेन्द्र मोरङ क्याम्पसमा देखिने पूराना विद्यार्थी नेतामध्ये अखिल क्रान्तिकारीका जिसश न्यौपाने बाहेक अन्य सबै अनुहारलाई उमेर हदले छेकेको छ । सात वर्षदेखि सक्रिय न्यौपाने फागुन १४ गते स्ववियु निर्वाचन भए पुराना अनुहार मध्येका न्यौपाने सभापतिको उम्मेदवार बन्ने दावि गरिरहेका छन् । त्यसो त अभिमन्यु यादव पनि अखिल क्रान्तिकारीबाट स्ववियुमा उठने दावि गरिरहेका छन् ।
स्ववीयुमा उठने नेताहरुको अवस्था हेर्दा क्रान्तिकारी बाहेक अन्य संगठनलाई उमेर हदको पीडाले बढी पिरोलेको छ ।
न्यौपाने उमेरहद लाग्दा सक्षम र क्याम्पसमा केन्द्रित रहने नेतृत्व आउने बताउछन् । उमेरहद लागेपछि एमाले निटक अखिलका तर्फबाट लक्ष्मण पोखरेल सभापतिका स्वत्त दावेदार हुन । अखिल इकाई अध्यक्ष समेत रहेका उनी स्ववीयुमा विद्यार्थीको समस्या बुझने नया नेतृत्व आउने बताउछन् ।
त्यस्तै नेविसंघबाट सभापतिमा दावि गरिरहेका अम्मर थापा पनि अबको निर्वाचनले नया अनुहारलाई राजनीतिमा ल्याउने अवसर सृजना गरेको बताउछन् ।
९ बर्ष सम्म हुन नसकेको स्वयु निर्वाचनका कारण महेन्द्र मोरङको अवस्था डामाडोल छ । स्वयु नहुदाको फाइदा व्यक्ती विषेशले लिने गरेका छन् ।
२०६५ सालमा भएको स्ववियु निर्वाचनमा महेन्द्र मोरङ क्याम्पसमा एमाले निकट अनेरास्ववियु र माओवादी निकट क्रान्तिकारी विद्यार्थीसंगठनबीच भएको एलान्सका उम्मेदवार जयराम सुन्दास निर्वाचित भएका थिए ।
मोरङ जिल्लामा ८ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुदैछ । स्ववियु निर्वाचनकालागि ठूला तीन राजनीतिक दलका विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघले आ–आफ्नो पटक जमाउन प्रयत्न गरिरहेका छन् । उदघोष