९ माघ,विराटनगर/ करिव १९ बर्ष देखि हुन नसकेको स्थानीय निकायको चुनाव पूरानै संरचनामा गर्नु पर्ने मधेशी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष बिजयकुमार गच्छदारले बताएका छन् ।
आइतवार विराटनगरमा पत्रकार सम्मेलन गरी अध्यक्ष गच्छदारले नया संरचनामा जादा आफु लगायतका दलहरुले नमान्ने बताउदै पूरानै संरचनामा जान उपयुक्त हुने बताएका हुन् ।
संविधानमा आगामी माघ सम्म तीन तहकै चुनाव गर्नु पर्ने व्यावस्था भएको बताउदै स्थानीय तहको निर्वाचन गराउन नसके संसदिय सभाको निर्वाचन गराउनु पर्ने बताए । स्थानीय तहको विरोध गर्नेले प्रदेश सभाको निर्वाचनमा पनि विरोध गर्ने बताउदै उनले संसदको निर्वाचनमा जान सकिने बताए ।
आफ्नो ४६ बर्षे राजनीतिक अनुभव सुनाउदै उनले भने ‘ तीन दल एकठाउमा नभए संघिय गणतन्त्र संकटमा पर्छ ।’
अहिले देखिएको राजनीतिक गतिरोध अन्त्यकालागि तीन ठूला दलहरु पार्टी र व्यक्तीगत स्वार्थ भन्दा एक कदम माथी उठ्ने बेला आएको बताए ।
संविधान संसोधनको विकल्प नभएको बताउदै उनले संसदमा टेवुल भएको संसोधन प्रस्तावमा परिमार्जन गर्न आवश्यक रहेको बताए । संसोधनमा आठ प्रदेश उल्लेख गर्नु पर्ने उनको भनाई छ । संविधान जारी गर्नु पूर्व भएको १६ बुदे सहमती पत्रमा आठ प्रदेश राख्ने उल्लेख भएको बताउदै उनले सहमतीबाट पछि हटदा समस्या भएको गुनासो गरे ।