पूर्वाञ्चल खबर
विराटनगर / ‘रोग लाग्नु भन्दा रोग लाग्न नदिनु राम्रो’ भने जस्तै विपद्बाट जोखिम कम गर्न सशस्त्र प्रहरीको प्रयासमा स्थानीय तहले समर्थन जनाएको छ ।
आगलागी, बाढी, पहिरो, दुर्घटना, सर्पदंश र भूकम्प जस्ता विपद्ले मानिसको ज्यान लिने मात्र होइन यसले समाजलाई नै सखाप पार्ने भएकोले यसबाट बच्न र बचाउन सशस्त्र प्रहरी बल नेपाल नं.३ गण हेडक्वाटर कंकालनी मोरङद्वारा स्थानीयलाई विपद् व्यवस्थापन अनुशिक्षण तालिम शुरु गरेको छ ।
मोरङको कटहरी गाउँपालिकाबाट शुरु भएको दुई दिने सो तालिम जिल्लाका १७ वटै स्थानीय तहमा जनप्रतिनिधिलाई दिने कार्यक्रम रहेको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए ।
तालिमले क्षमता अभिवृद्धि गर्नुका साथै कुनै पनि विपद् आइपरेमा तत्काल उद्धार एवं राहतमा उहाँहरुको सक्रिय सहभागिता हुने र यसबाट जनधनको क्षतिलाई क मगर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
मोरङमा बुढी नदी, बक्रहा, सिंगिया, मावा लगायतका ठूला नदीहरु छन् भने बर्षातका मौसममा यी नदीहरुले लाखौँका धनसम्पति नष्ट गर्नुका साथै मानिसको जीवन कष्टकर बनाउने गरेको छ । तत्काल राहत एवं उद्धारमा सक्रिय हुनु पर्ने सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना पुग्नु अगावै धेरै जनधनको क्षति हुने गरेकोले स्थानीय तहमा नै तालिक दिने र जनधन हानी हुनबाछ बचाउने तालिमको उद्देश्य रहेको छ । विपद् पूर्व तयारी गर्ने दृष्टिले स्थानीय तह यो तालिम हुनु राम्रो र यसबाट हामीलाई ज्ञान, सीप र क्षमता अभिवृद्धि हुने कटहरी गाउँपालिकाका उपाध्यक्ष मञ्जीताकुमारी सरदारले बताए ।
दश लाख भन्दा बढी जनसङ्ख्या रहेको मोरङमा विराटनगर महानगरपालिका, बेलबारी नगरपालिकामा आगो नियन्त्रण गर्ने दमकल छ भने सनुवर्षी गाउँपालिका र रंगेली नगरपालिकाले संयुक्त रुपमा एक दमकल खरीद गरी वरिपरि हुने आगलागीमा सेवा प्रदान गर्दै आएको छ । १७ वटा स्थानीय तहमा अहिले पनि १३ वटा स्थानीय तहमा दमकल छैन भने सुख्खा मौसममा हुने आगलागीबाट बचाउन अझै पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समस्या भइरहेको मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनले विपद्मा एक जनाको ज्यान बचाउन सक्नु पनि ठूलो उपलब्धि हुने भएकोले तालिममा सहभागीहरुले नजानेका र नबुझेका विषयमा प्रशिक्षकसँग ज्ञान लिनु पर्ने बताए ।
मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विपद् व्यवस्थापन कार्य सञ्चालन ऐनले प्रत्येक स्थानीय तहको वडा अध्यक्षहरुलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिई स्थानीय स्तरमै विपद् व्यवस्थापन समिति बनाउनु पर्ने जानकारी दिँदै विपद्मा उहाँहरुको भूमिकालाई अझ फराकिलो र कसिलो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले विपद्बाट अछुतो नरहेको यो गाउँपालिकामा तालिमले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै अगामी दिनमा विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने जानकारी दिए । नेपाल सरकार गुह मन्त्रालयमा मिति २०७६ साल मङ्सिर ३ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णयले स्थानीय तहहरुलाई विपद् व्यवस्थापनमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यलाई सशस्त्र प्रहरीले कार्यान्वयनमा लगेको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।