पूर्वाञ्चल खबर
काठमाण्डौं / आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल ओमानसँग पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदानमा आज भएको ऐतिहासिक खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । घरेलु मैदान अनि घरेलु दर्शकको राम्रो साथ पाएपनि नेपालका खेलाडीले मैदानमा ओमानलाई पराजित गर्न सकेनन् । यससँगै विश्वकप छनोट अन्तर्गत रहेको लिग २ मा नेपालले हारबाट सुरुवात गरेको छ । अब नेपालले अमेरिकासँग शनिबार अमेरिकासँग खेल्नेछ ।
ओमानले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७९ रनमा समेटियो । नेपालकालागि शरद भेषवाकरले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि नेपालले जित निकाल्न सकेन । यस्तै दिपेन्द्र सिंह ऐरीले ३६ रन जोड्दा सन्दीप लामिछानेले २८ रन बनाए । ओमानको लागि भने कप्तान मक्सुदले नै सर्वाधिक ३ विकेट लिए । त्यसका लागि उनले १० ओभर बलिङ गर्द २ मेडन राखेर ३० रन खर्चिए । यस्तै बिलाल खान र कलिमुल्लाहले २(२ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङ गरेको ओमानले पूरै ५० ओभर खैल्दै ९ विकेट गुमाएर १९७ रन बनायो । टीयू मैदानमा नेपालको लागि यो ठीकैको लक्ष्य थियो ।
ओमानका लागि मुहम्मद नदिमले अविजित रहँदै सर्वाधिक ६९ रन बनाए ।
नेपालका करण केसीले ४ विकेट लिए । यसै खेलमार्फत ओडीआईमा डेब्यु गरेका नेपाली स्पीनर सुशन भारीको लागि भने डेब्यु खेल व्यक्तिगत रुपमा यादगार बन्यो । उनले डेब्यु विकेटका लागि ओमानका कप्तान जिसन मक्सुदलाई आउट गरे । यस्तै आफ्नो १० ओभर कोटामा सुशनले १ मेडन राख्दै १४ रन मात्र खर्चेर ३ विकेट लिए ।
नेपाललाई हराएसँगै ओमान लिगको दोस्रो स्थानमा उक्लिएको छ । ओमानले ५ खेलमा १० अंक जोडेको छ । अमेरिका ६ खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।