पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरपालिका वडा नम्बर ८ बलुवाईमा सुशील कोइराला फाउण्डेसनको भवन शिलान्यास भएको छ ।
साविक वडा नम्बर ११ मा विराटनगर महानगरपालिकाले फाउण्डेसनलाई जग्गा उपलब्ध गराएपछि कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले आज एक कार्यक्रमबीच फाउन्डेसनको भवन शिलान्यास गरेका हुन ।
आचार्यले विराटनगरमै जन्मिएका पूर्व प्रधानमन्त्री तथा कांग्रेस नेता सुशील कोइरालाको सादगीपूर्ण जीवनशैली सबैका लागि प्रेरणाको स्रोत भएको बताए ।
भने,‘‘आज विराटनगरमै उहाँको सम्झनामा फाउण्डेसनको भवन शिलान्यास गर्न पाउनु र काम थालनी हुनुले कोइराला प्रति सच्चा सम्मान भएको छ ।’’ आचार्यले कोइरालाको सादा र सौम्य जीवनशैली अहिलेका नेतृत्वलाई पनि प्रेरणाको स्रोत भएको चर्चा गरे ।
कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले संविधान जारी गराउन सुशील कोइरालाको ठूलो योगदान भएको बताए ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सामाजिक काम गर्न अग्रसर भएको फाउण्डेसनलाई महानगरले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको बताउँदै भने,‘‘समाज रुपमान्तरणमा फाउण्डेसनले योगदान दिनेछ भन्ने हाम्रो विश्वास छ ।’’
फाउण्डेसनकी अध्यक्ष मृदुला कोइरालाले सुशील कोइरालाको जीवन शैली र उनको काम गर्ने तरिकाबारे कार्यक्रममा सहभागी भएका अतिथि तथा सहभागीलाई जानकारी गराएकी थिइन । उनले फाउण्डेसनले समाजमा पिछडिएका र मूलधारमा ल्याउनु पर्नेहरुको हितमा काम गर्ने बताइन । भनिन्,‘‘सुशील कोइराला बित्नु भएको पाँच वर्षपछि हामीले उहाँको सम्झनामा सानो कामको शुभारम्भ गरेका हौं अब यसलाई मूर्त रुप दिंदै थप अघि बढ्ने छौं ।’’ त्यस अवसरमा कोइरालाले सुशील बिरामी भएपछिका अवस्थाको दिनचर्याबारे जानकारी गराइन ।
फाउण्डेसनको कार्यसफलताका लागि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले शुभकामना सन्देश पठाएरको अध्यक्ष कोइरालाले जानकारी दिइन् ।
फाउण्डेसन भवन निर्माण गर्न प्रदेश १ सरकारकाले ७५ लाख बजेट छुट्याई दिएको छ । विराटनगर महानगरपालिकाले तीन कठ्ठा जग्गा उपलब्ध गराएको छ । अध्यक्ष कोइरालाले भनिन्,‘‘हामी ज्येष्ठ नागरिक स्याहार केन्द्रसमेत सञ्चालन गर्ने तयारीमा छौं ।’’ फाउण्डेसनले युवा लक्षित व्यवसायिक तालिमदेखि आयआर्जनका कार्यक्रमलाई समेत प्राथमिकता दिने बताइएको छ ।
सुशीक कोइराला विराटनगरमा जन्मिएको र उनको योगदानलाई स्मरण गराउनकै लागि यो संस्था विराटनगरमा दर्ता भई सञ्चालनमा आएको फाउण्डेसनका सचिव दिपक चापागाईंले जानकारी दिएका छन् । सुशील कोइरालाको पाँच वर्षअघि निधन भएको थियो ।