पूर्वाञ्चल खबर
विराटनगर / सुनसरीको दुहवी नगरपालिका–१२ केशलीया खोला किनार नजिकै वीभत्स अवस्थामा पराल र माटोले पुरेको अवस्थामा एक युवाको नग्न अवस्थामा शवे छ ।
विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सीमाना भएर बग्ने केसलिया खोला नजिकै आज हत्या गरेको अवस्थामा शव भेटिएको हो ।
भेटिएको युवाको नाम, थर र वतन भने खुल्न नसकेको सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए । पराल र बालुवाले पुरेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल पुगेको प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ ।
एसपी पोखरेलले शरीरमा लगाएका कुनै पनि कपडा नभएको र अनुहार तथा टाउको किच्याएर चिन्नै नसक्ने बनाएको अवस्थामा शव भेटिएको बताए । बाँस झ्याङ नजिकै रहेको घटनास्थलमा वरपर लतपतिएको रगतका टाटाहरु छन् । घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको मखलर (गलबन्दी) को टुक्रा फेला परेको एसपी पोखरेलले बताए ।
प्रहरीले केही दिनअघि हत्या गरी शव लुकाउन खाल्डोमा हालेर पराल र बालुवाले छोपेको बताएको छ ।
हत्या गरेर फ्यालिएका युवाको उमेर अन्दाजी २०र२५ वर्ष जस्तो देखिन्छ । घटनाको प्रकृति हेर्दा कुनै रिसिईबीका कारण केही न केही नियत राखेर हत्या गरे जस्तो देखिने प्रहरीले बताएको छ ।