पूर्वाञ्चल खबर
विराटनगर –१० स्थित संघको कार्यालयमा आज बसेको बैठकले समय समयमा औषधी व्यवसायमा विभिन्न विकृति विसंगतिहरु देखापर्ने गरेकोले त्यस्तो कार्यलाई नियन्त्रण गरि व्यवसायको गरिमा उच्च बनाउने उद्देश्यले व्यवसायीहरुलाई अभिमुखिकरण गरि स्वस्थ्य व्यवसाय संचालन गर्न उत्प्रेरित गर्ने निर्णय गरेको उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए ।
बैठकले सचिवालयलाई आवश्यक पर्ने सामाग्री खरिद गरि व्यवस्थित गर्ने , संघका गतिविधि सञ्चालन गर्न सहज बनाउने उद्देश्यले कोष स्थापना गर्ने , संघको गतिविधिहरु सम्पूर्ण सदस्यहरुमाझ जानकारी दिन संघको आफ्नै फेसबुक पेज र एप सञ्चालन गर्ने , कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको परिचय पत्र बनाउने, साधारण सदस्यता वितरण कार्यलाई अगाडी बढाउने निर्णय गरेको छ ।
संघका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाको अध्यक्षतामा बसेको संघको बैठकले सरोकारवाला संघ संस्थाहरु तथा सरकारी कार्यालयहरु सँग समन्वय गर्न तथा आफ्ना गतिविधिहरु सार्वजनिक गर्न संघका उपाध्यक्ष देशबन्धु ढकाललाई प्रवक्ता तोकेको छ । त्यस्तै बैठकले संघको सल्लाहकारमा संघका कोशी अंचल शाखाका पूर्व अध्यक्ष लक्ष्मण माझी चौधरीलाई चयन गरेको छ भने प्रेस सल्लाहकारमा पत्रकार उद्धव घिमिरेलाई चयन गरेको संघका सचिव हरिराज रेग्मीले जानकारी दिए ।
बैठकले संघको निर्वाचन सफलतापूर्वक सम्पन्न गरि पदभार ग्रहण गराएकोमा खुसी व्यक्त गर्दै निर्वाचन समिति र संघको कोशी अञ्चल शाखालाई धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै बैठकले आगामी दिनमा अग्रज व्यवसायी तथा संघमा बसेर काम गरिसक्नुभएकाहरुसँग समन्वय गर्ने र सल्लाह , सुझावका आधारमा संघका गतिविधिहरुलाई अगाडी बढाउने निर्णय गरेको सचिव रेग्मीले बताए ।