२ माघ, विराटनगर/ जनता आवास कार्यान्वयन इकाई कार्यालय आजदेखि विराटनगरमा सञ्चालनमा आएको छ ।
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले कार्यालयको एक समारोहका बीच उद्घाटन गरेका छन् । सरकारले सुरु गरेको जनताको आवास कार्यक्रमअन्तर्गत मोरङमा चालु आर्थिक वर्षमा अति विपन्न, सीमान्तकृत परिवारका ८ सय परिवारका भवन निर्माण कार्य सञ्चालनका लागि सो कार्यालय स्थापना गरिएको हो ।
जिल्लाको ९ वटै निर्वाचन क्षेत्रको २७ वटा गाविसमा सो कार्यक्रम लागू हुनेछ । प्रत्येक परिवारलाई एउटा घर निर्माणका लागि दुई लाख २५ हजार रकम सरकारले प्रदान गर्नेछ । जिल्लामा ४५ करोड ६ सयको लागतमा ८ सय घर निर्माण गरिने लक्ष्य राखिएको छ । मन्त्री केसीले जनताको आवास कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।
उनले चालु आर्थिक वर्षमा विपन्न गरिब, लोपोन्मुख र दलित परिवारका लागि मुलुकभर २० हजार घर निर्माण गर्ने लक्ष्य राखिएको जानकारी गराए । जनता आवास कार्यक्रमको जिल्लास्तरीय समन्वय समितिका संयोजक सांसद् अमृत अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विकास कार्यालय, विराटनगरका प्रमुख श्यामकिशोर सिंहले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे ।