पूर्वाञ्चल खबर
धनुषा / बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा धनुषा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले दुईजना महिला र एकजना पुरुषलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीका अनुुसार घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली समेत गठन भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा गएराति बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको थियो । घटनामा अरु तीनजना गम्भीर घाइते भएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर सखुवाबजार जाने बाटोको मिलन चौकस्थित स्थानीय राजेश साहको घरमा कुकर बम विष्फोट भएको हो । राति करिव १२ बजे भएको बम विस्फोटमा ४६ वर्षीय राजेश साह र उनका छोरा अन्दाजी १८ वर्षका आनन्द कुमारको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएका ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहालको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी कार्कीले बताए । विस्फोटमा परी प्रहरीजवान रिजन महतो, मृतक राजेशका अर्का छोरा आकाशकुमार साह, छोरी अन्जलीकुमारी साह र छिमेकी सकिला खातुन घाइते भएका छन् । अन्जली र आकाशलाई राति नै उपचारका लागि धरान लगिएको छ । सकिला खातुनको खुट्टामा बमको छर्रा लागेको छ ।
औषधि व्यवसायी राजेश साहले आफ्नो घरको मुख्य गेटको ग्रिलमा शंकास्पद झोला देखेपछि राति नै प्रहरीलाई खबर गरे । ईलाका प्रहरी कार्यालय धनुषाबाट ईन्सपेक्टरसहितको टोली आएर झोला जाँच गर्ने क्रममा अचानक विष्फोट भएको हो । घटनास्थलमा कुकर र मोबाइलको टुक्रा फेला पारेको प्रहरीले थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।