विराटनगर / यही चैत ३ गतेदेखि प्रदेश राजधानी विराटनगरमा नेपाल–भारत साहित्य महोत्सव हुने भएको छ ।
विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा तीनदिने साहित्य महोत्सव हुने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गरेर आयोजकले महोत्सवबारे जानकारी दिएको छ । विराटनगर ठाकुरवाडी रोडस्थित रामजानकी सेवा सदनमा हुने महोत्सवमा भारतबाट १ सय र नेपालबाट २ सयभन्दा बढी साहित्यकारको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।
महोत्सवमा ‘नेपाल–भारत साहित्यिक, सांस्कृतिक, ऐतिहासिक तथा आध्यात्मिक महत्व’, विराटनगरको ऐतिहासिक महत्व तथा महाभारतकालदेखिको सम्बन्ध’, बहुभाषी कवि सम्मेलन हुने भएको छ । त्यस्तै साहित्यिक/सामाजिक परिचर्चा, पर्यावरण विमर्शका साथै गजल, जारु वाचनसमेत हुने मेरुठ अकाडेमीका अध्यक्ष डा. विजय पण्डितले जानकारी दिनुभयो । सात वटै प्रदेशबाट साहित्यकारहरुको सहभागिता रहने आयोजक समितिका संयोजक देवी पन्थीले बताए ।पत्रकार सम्मेलनमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, सार्क कल्चरल नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, साहित्यकार गोकुल अधिकारी, मीनकुमार नवोदितलगायतले साहित्य महोत्सवले नेपाल र भारतको सम्बन्ध विस्तारमा थप मद्दत पुग्ने विचार राखेका थिए । विराटनगर घोषणापत्र जारी गर्दै चैत ५ गते महोत्सव समापन हुनेछ । यसअघि मेरठ अकाडेमीले वीरगञ्ज र काठमाडौंमा नेपाल–भारत साहित्य महोत्सव गरेको थियो । विराटनगरमा गरिने महोत्सव सातौं भएको पण्डितले जानकारी दिए ।
राम्रो काम । शुभकामना छ