पूर्वाञ्चल खबर
काठमाण्डौं / स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई अस्पतालले आज डिस्चार्ज गरेको हो । उनलाई दिउँसो पौने तीन बजे अस्पतालले डिस्चार्ज गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओली अब केही दिन बालुवाटारस्थित निवासमै आराम गनेछन् । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकले केही दिन अस्पतालमै राख्ने सोच बनाए पनि उहाँले निवासमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि चिकित्सकले डिस्चार्ज गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओली डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टा कुराकानी भएको थियो । राष्ट्रपति भण्डारी केही दिन पहिला पनि प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेकी थिइन् । प्रधानमन्त्री ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।