पूर्वाञ्चल खबर
काठमाण्डौ /नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताएका छन् ।
चाँगुनारायणमा आज चुनावी कार्यक्रममा बोल्दै उनले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रूपमा पूरा गर्ने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेएका नेता खनालले २१औँ शताब्दीको दोस्रो दशकमा पार गरिरहँदा पनि हाम्रो देशको सिमाना अङ्कित हुन नसक्नु विगतका सरकारले यसमा ध्यान दिन नसकेको प्रस्ट भएको बताए ।
देशमा प्रशस्त बिजुली र पानी भएर पनि देश अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य गरी विद्युत्भार कटौती मुक्त देश बनाउँदै सरकारले राष्ट्रव्यापीरूपमा विद्युतीकरण गर्ने योजना अगाडि बढाएको बताए । आफ्नै देशमा उत्पादनको क्षमता हुँदाहुँदै पनि अरू देशबाट आयात गरिएका गोलभेँडा, प्याज, फलफूल खाइरहनु परेको बताउँदै वर्तमान सरकारले यस्तो विदेशमुखी अवस्थाको अन्त्य गर्दै उत्पादनमुखी नीति लिएको भनाइ उनले राखे ।