पूर्वाञ्चल खबर
विराटनगर / सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको सरकारी गाडीमा अवैध कपडा ओसार–पोसार हुने गरेको पाइएको छ ।

भारत जोगवनीबाट भन्सार छलेर अवैध तरिकाले कपडा ल्याउने क्रममा एक जना वडाध्यक्षलाई विराटनगर रानी भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिए पछि यस्तो खुलेको हो ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ४ का वडाध्यक्ष तेजनारायण यादव र उनी चढेको स १ झ ५०८ नम्बरको सरकारी गाडीमा ५० हजारबढी मूल्यका सामानसहित भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।
सरकारी गाडीमा भन्सार छलेर कपडा लैजान लागेको अवस्थामा कर्मचारीले चेकजाँच गर्ने क्रममा फेला पारेका हुन् । जोगवनीबाट केही कपडा, साडी तथा लत्ताकपडा लैजान लागेको थाहा पाएर कर्मचारीले गाडी भन्सारले नियन्त्रणमा लिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले बताए ।
भन्सार छलेर कपडा ल्याएको चेकजाँचको क्रममा थाहाँ भएपछि नियन्त्रणमा लिएको हो,’ सूचना अधिकारी पौडेलले भने, ‘भन्सार कार्यालयमा सावारी साधान राखिएको छ ।’
यता वडाध्यक्ष यादवले भने मंसिर ४ गते हुन लागेको आफ्नो छोरीको विवाहका लागि केही कपडा लैजान लागेको स्वीकार गरेका छन्। ‘छोरीको विवाह हुँदैछ। त्यसको लागि किनमेल गरेर फर्किने क्रममा कर्मचारीले नियन्त्रणमा लिए’ उनले भने ।
गाडीमा साडी ५ थान, बेहुलाको सुटको कपडा, सिरक तथा खाद्यान्नका सामाग्री आफूले किनेको वडाध्यक्ष यादवको भनाइ छ । एकहप्ता अगाडि पनि सरकारी नम्बर प्लेटको मोटरसाइकल र एकजनाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको थियो। डिभिजन वन कार्यालय उदयपुरको स.१ ब १४१० नम्बरको सरकारी मोटरसाइकलमा लागुऔषध ओसारपसार गर्ने सप्तरी राजविराज २ राजदेव टोलका २६ वर्षीय कपिल यादवलाई प्रहरीले पक्राउ गरेको थियो। कपिल डिभिजन वन कार्यालय उदयपुरको डिभिजन वन कार्यालयका अधिकृत सत्यनारायण यादवका छोरा हुन्।