पूर्वाञ्चल खबर
विराटनगर / स्कूलले लिएको परीक्षामा फेल भएको भन्दै विद्यार्थीलाई निर्घात कुटपिट गर्ने विराटनगर–४ राजवंशीचौक स्थित अर्पण बोर्डिङ्ग स्कूलका शिक्षक तथा सञ्चालक निमेष बस्नेतले विद्यार्थीको घर मै पुगेर माफी मागेका छन् ।
विद्यार्थीको घरमा पुगेर कक्षा १२ सम्म निःशुल्क पठनपाठन गराइदिने भन्दै घरमा पुगेर सार्वजानिक रूपमा माफि मागेपछि दुवै पक्षबिच सहमति भएको छ ।
कक्षा ८ मा अध्ययनरत १४ बर्षिया रोश्नी भण्डारी स्कूलले लिएको दोस्रो परीक्षामा तीन वटा विषयमा फेल भएको भन्दै शिक्षक बस्नेतले निलडाम हुनेगरी पाइपले पिटेका थिए । कुटपीटबाट भण्डारीको कम्बरदेखि मुनिको भागमा गहिरो चोट लागेको छ ।
कुटपिट गर्ने शिक्षक घरमा आएर माफि माग्दै आउँदो दिनमा यस्तो गल्ती नदोरल्याउने प्रतिवद्धता जनाएपछि सहमति भएको रोश्नीकी आमा पुष्पाले बताइन् । ‘आवेगमा आएर एक पटकलाई गल्ती भयो भन्दै कुटपिट गर्ने शिक्षकले माफि माग्दै घरमा आउनुभयो,’ उनले भनिन्, ‘आउँदो दिनमा यस्तो गल्ती नदोहरल्याउने प्रतिबद्धता जनाएपछि हामीले माफ गरिएका छौं ।’
स्कूलमा लठि र पाइपहरूले कुटपिटमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको पनि बताएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा मंगलबार साँझ घाउँजाच फारम भरेर कुटपिट गर्ने शिक्षको विरुद्धमा उजुरी दिएका थिए । पीडित र पीडक स्कूलमा मिलेको सहमति भएपछि बुधबार जिप्रका मोरङमा उजुरी फिर्ता लिन पुगेका थिए । तर, प्रहरीले घाउ ठिक नभएसम्म सहमति नहुने भन्दै दुवै पक्षलाई बुधबार साँझ घर पठाइ दिएको छ ।