AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको मिथिला थाली रेस्टुरेन्टमा स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने रसायन तथा कृत्रिम रङको प्रयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ असार २०८३, सोमबार १७:३८
63
Shares
विराटनगर / विराटनगरमा भर्खरै खोलेको मिथिला थाली रेस्टुरेन्टमा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य व्यवसायमा गम्भीर लापरबाही देखिन थालेपछि विराटनगरमा खाद्य सुरक्षाको अवस्था फेरि चर्चाको विषय बनेको छ ।

पछिल्लो अनुगमनमा विराटनगरस्थित ‘मिथिला थाली’ रेस्टुरेन्टमा मिठाई उत्पादनका क्रममा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने रसायन तथा कृत्रिम रङको प्रयोग गरिएको भेटिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको निरीक्षणका क्रममा उत्पादन तथा भण्डारण दुवै क्षेत्रमा मापदण्डविपरीत गतिविधि फेला परेका हुन् । अनुगमन टोलीका अनुसार मिठाई तयारीमा प्रयोग गरिएका केही पदार्थ खाद्य सुरक्षासम्बन्धी स्वीकृत मापदण्डसँग मेल नखाने प्रकृतिका थिए । त्यस्तै, भण्डारण कक्षमा लामो समयदेखि प्रयोग नगरिएका तथा म्याद नाघेका खाद्य सामग्री समेत राखिएको पाइएपछि ती वस्तु तत्काल जफत गरी नष्ट गरिएको छ ।

कार्यालयले करिब पाँच किलो मिठाई नियन्त्रणमा लिएर नष्ट गरेको जनाएको छ । निरीक्षणका क्रममा भान्साको सरसफाइ कमजोर रहेको, खाद्य सामग्री खुला रूपमा राखिएको, उपकरण तथा कार्यस्थल नियमित रूपमा सफा नगरेको र खाद्यजन्य वस्तुको व्यवस्थापनमा लापरबाही भएको समेत देखिएको थियो ।

खाद्य विज्ञहरूका अनुसार मिठाई तथा प्रशोधित खाद्य पदार्थमा अनधिकृत रसायन वा अत्यधिक कृत्रिम रङ प्रयोग गर्दा दीर्घकालीन रूपमा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू यस्तो जोखिमबाट बढी प्रभावित हुने सम्भावना रहने बताइन्छ ।

अनुगमन टोलीले सम्बन्धित व्यवसायीलाई तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिएको छ । तोकिएका मापदण्ड पालना नगरे पुनः निरीक्षणपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।

विराटनगर जस्तो प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्रमा खाद्य सुरक्षासम्बन्धी यस्ता कमजोरी भेटिनुले बजार अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। स्थानीय प्रशासनले उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै होटल, रेस्टुरेन्ट तथा खाद्य उद्योगमा अनुगमनको दायरा विस्तार गर्ने जनाएको छ ।

उपभोक्ता अधिकारकर्मीहरू भने बजारमा उपलब्ध खाद्य वस्तुको गुणस्तरप्रति व्यवसायी मात्र होइन, उपभोक्ता स्वयं पनि सचेत हुनुपर्ने बताउँछन्। उनीहरूका अनुसार खाद्य सुरक्षा सुनिश्चित गर्न सरकारी निगरानी, व्यवसायीको जिम्मेवारी र उपभोक्ताको सचेतनाबीच सन्तुलित सहकार्य आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर