पूर्वाञ्चल खबर
काठमाण्डौं / निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डौंले आदेश दिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ७ घण्टा बयानपछि आज अपरान्ह उपस्थित गराइएका महरालाई शनिबारदेखि लागू हुने गरी थप पाँच दिन हिरासतमा राख्न न्यायाधीश बाबुराम सुवेदीको इजलासले अनुमति दिएको हो । अब महरालाई सरकारी वकिलले आगामी बुधबार अदालतमा उपस्थित गराउने छन् । महरालाई गत असोज १९ गतेदेखि प्रहरीले पक्राउ गरेको हो । ’ संसद सचिवालयकी रोशनी शाहीले आफुमाथि कोठामै आएर महराले कुटपिट गर्दै बलात्कार गरेको जाहेरी गत असोज १८ गते महानगरीय प्रहरी वृत्त तीनकुनेमा दिएकी थिइन् । उनको जाहेरीका आधारमा वृत्तका डिएसपी दुर्गा रेग्मीसहितको टोलीले त्यसको भोलिपल्ट महरालाई बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ गरेको थियो । महरालाई १० दिनसम्म हिरासतमा राखेर असोज २८ गते जिल्ला अदालतमा तीन दिन म्याद शुक्रबारसम्म थपिएको थियो। शुक्रबारै सरकारी वकिलले अदालतमा लान नभ्याएपछि थप एक दिन हिरासतमा राखेर आज जिल्ला अदालतमा पेश गरिएको हो ।