पूर्वाञ्चल खबर
रौतहट / रौतहट क्षेत्र नं २ का सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् । रौतहट क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट प्रत्यक्ष निर्वाचित सांसद आलमलाई प्रहरीले आज विहान पक्राउ गरेको हो । नेपाल प्रहरीको काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयबाट सादा पोसाकमा खटिएका प्रहरीले सांसद आलमलाई रौतहटबाटै पक्राउ गरेको हो ।
सांसद आलमलाई प्रहरीले उनकै निजी निवास राजपुर फरहदवा गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा राखिएको छ । २०६४ चैत २७ गते राति भएको बम विस्फोटमा संलग्न भएको अभियोगमा आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । रौतहटको राजपुर–४ फरहदवामा भएको विस्फोटनमा घाइते भएपछि जलाइएका दुईजना नेपाली युवा त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाका आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
तर, प्रहरीले आलमबिरुद्ध जाहेरी लिन नमानेपछि मृतकका अविभावकले दोषीमाथिको जाहेरी निवेदन लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । रिटमाथि सुनुवाई गर्दै तत्कालिन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।
अदालतको आदेश पछि पनि आलमलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । पुर्व बन मन्त्री समेत रहेका आलम काँग्रेस जिल्ला सभापति हुँदै केन्द्रीय सदस्य समेत भइसकेका थिए ।
सांसद आलमलाई पक्राउ गरेको प्रति काँग्रेस रौतहटको आपत्ति
संघीय सांसद मोहमद आफताब आलमलाई पक्राउ गरेको प्रति नेपाली काँग्रेस रौतहटले आपत्ति जनाएको छ । सांसद आलम पक्राउको खबर सञ्चार माध्यमबाट सार्वजनिक भएलगतै काँग्रेसका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमाथि ढुङ्गामुढा समेत प्रहार गरेका छन् ।
नेपाली काँग्रेसले आज अपरान्ह गौरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सांसद आलम पक्राउ परेको घटनाप्रति सरकारको गम्भीर ध्यानकर्षण जनाएको छ ।
पार्टी कार्यालयमा नेपाली काँग्रेसद्धारा चियापान कार्यक्रमको तयारी गरिरहेको अवस्थामा सांसद आलमलाई पक्राउ गरी कम्युनिस्ट सरकारले कार्यक्रम बिथोल्ने षड्यन्त्र गरेको जिल्ला सभापति कृष्णप्रसाद यादवलेबताए। विपक्षीलाई डुबाउने, हेर्ने नचाहने, बोल्दैमा जेलसम्म हाल्न पछि नपर्ने केपी ओली नेतृत्वको सरकार काँग्रेस कार्यकर्ताको मनोबल घटाउन सांसद आलमलाई पक्राउ गरेको यादवको आरोप छ ।
सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा अदालतको बिना पुर्जी सरकारको दबाबमा सांसद आलमको पक्राउप्रति जिल्लाका सबै कार्यकर्ताले खेद प्रकट गरेको उनले बताए । आलमलाई प्रहरीले तत्काल रिहा नगरे चरणबद्ध आन्दोलन गर्ने सभापति यादवले चेतावनी समेत दिए ।