पूर्वाञ्चल खबर
काठमाडौं / नेपालमा जारी साफ अन्डर–१८ च्याम्पियनसिपअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा माल्दिभसले भुटानलाई पराजित गर्दै तेस्रो भएको छ ।
आज विहान ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा भुटानमाथि १–० को जित निकाल्दै माल्दिभ्स तेस्रो भएको हो ।
माल्दिभ्सलाई जित दिलाउन इब्राहिम इमरानले ७५औँ मिनेटमा गरेको गोल गर्दै माल्दिभ्सलाई जित दिलाएका थिए । उनले मध्यभागबाट आएको लामो पासलाई पेनाल्टी बक्सभित्रबाट भुटानका रक्षकलाई बिट गराउँदै जाली चुमाउँदै गरेको गोल नै निर्णायक बनेको हो ।
सुरुवातबाट माल्दिभ्सलाई दबाबमा राख्दै उत्कृष्ट खेल पस्किए पनि भुटानले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा स्तब्ध भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा माल्दिभ्सले भने पाएको एक मात्र अवसरलाई सदुपयोग गर्दै तेस्रो स्थान बनाउन सफल भएको हो । समूह चरणको खेलमा साविक विजेता नेपाललाई पराजित गर्दै सनसनी मच्याएको भुटान सेमिफाइलनमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो । यस्तै तेस्रो बनेको टोली माल्दिभ्स पनि भारतसँग ४–० ले नै पराजित भएको थियो ।
६ देशले सहभागिता जनाएको प्रतियोगितामा आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले सहभागि टोलीलाई दुई समूहमा विभाजन गरी राउन्ड रोविन प्रणालीमा प्रतिस्पर्धा गराएको थियो ।