पूर्वाञ्चल खबर
मोबाइल चोरीको आरोप लगाउँदै १७ वर्षीय मोहम्मद नउसाद मियाँमाथि कुटपिट गरिएको मोरङ प्रहरीले जनाएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ पठियाटोलका मियाँलाई सोही ठाउँका चार जनाले दुई घण्टासम्म नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको पीडितले बताएका छन् ।
घरमै लुगा धोइरहेको बेला छिमेकी अफजल मियाँसहित चार जनाले मोहम्मद नउसाद मियाँ बोलाएर कुटपिट गरेका हुन् । एक छिन काम छ भनेर हात्तीमुढास्थित मनमोहन पोलिटेक्निक कलेज आसपासको बाँसघारीमा लगेर गत विहीबार साँझ उनीमाथि कुटपिट भएको थियो । कुटपिट गरेको भिडियो पनि सार्वजनिक भएको छ ।
नउसादमाथि बूढीगंगा–४ कै २२ वर्षीय सादीर मियाँ, २० वर्षीय अंसद मियाँ, १८ वर्षीय अफजल मियाँ र बूढीगंगा–५ का २१ वर्षीय आकिप मियाँले नियन्त्रणमा लिएर पेटी, लात्ता र मुक्काले दुई घण्टासम्मलगातार कुटपिट गरेको पीडितको भनाइ छ । घटनाको भिडियो पनि बाहिरिएको छ । घटनामा संलग्न मध्ये अफजल मियाँले भिडियो खिचेको र अन्य तीन जनाले कुटपिट पीडित नउसादले बताए ।
वडा अध्यक्षका छोराले बोलाएका छन् भन्दै घरैबाट एक किलोमिटर जति बाँसघारीमा लगेर साँझ ७ बजेसम्म कुटपिट गरेको बुवा मोहम्मद अलिम मियाँले बताए । उनले अफजलले घरमै आएर छोरालाई बोलाएर लगेको जानकारी दिए । घटनाको भिडियोमा पनि तीन जनाले कुटपिट गरेको प्रष्ट देखिन्छ । अलिमले साथी–साथीबीचमा मोबाइल हेर्ने क्रममा आइतबार साँझ भिडियो बाहिरिएपछि घटनाका बारेमा परिवारले जानकारी पाएको बताए ।
कुटपिटका क्रममा पटक–पटक किन गल्ती गरिस् भन्दै यातना दिइएको छ । पीडित किशोरसहित उनका आफन्त सोमबार जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालयमा भेटिएका मियाँले आफूलाई बिनाकारण कुटिएको बताए ।
कुटपिट मात्रै होइन नउसादलाई ती युवाले यो कुरा कसैलाई भनेमा ज्यान मार्ने धम्की पनि दिएका थिए । पीडितका बुबा बुवा मोहम्मद अलिम मियाँले लुगा धुँदै गरेको छोरोलाई बोलाएर कुटपिट गर्नेलाई कारबाहीको माग गरेका छन् । उनले कुटपिटमा संलग्न युवाहरुले गाँजा खाएर मार्ने धम्की दिने गरेको दाबी गरे ।
दुई घण्टा कुटपिटमा परेका नउसादलाई आसपासबाट मानिसले थाहा पाएपछि अर्धचेत अवस्थामा छाडिएको थियो । ‘घरमा आउँदा छोरो अर्धचेत अवस्थामा थियो,’ उनका बुबा अलिम मियाँले भने, ‘हामीलाई न्याय चाहियो ।’ छिमेकी युवाको कुटाइको शिकार बनेका उनी अहिले न्याय मागिरहेका छन् । कुटपिट गरेको भिडियो सार्वजानिक भएपछि घटनामा संलग्नहरु फरार छन् । ‘घटनाका बारेमा कोही कसैलाई भनेमा मारिदिन्छौं भन्ने धम्की दिएका रहेछन्,’ उनले भने, ‘त्यही धम्कीपछिको डरका कारण चार दिनसम्म घटनाका बारेमा उस (छोरो) ले परिवारमा सुनाएन ।’
अपहरण शैलीमा लगेर यातना दिने र गुण्डागर्दी शैलीमा धाक धम्की दिनेलाई पक्राउ गरी कारबाही गरिने प्रहरीले जनाएको छ । पीडितको उजुरी दर्ता गर्न निर्देशन दिएको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।