पूर्वाञ्चल खबर
एक किशोरीलाई सामूहिक बलात्कार गर्नेको पक्षमा रहेका गाउँलेले क्षतिपूर्ति बापत रकम दिलाउने शर्तमा मिलापत्र गराएका थिए ।
रंगेली–९ सखुवाथानमा भएको बलात्कारको घटनामा मिलापत्र गराउनेहरू अभिनव बजगाई, दिलिम मुर्मू, सुभाष राजवंशी, रामबहादुर राजवंशी, निमलाल राजवंशी, शेखर गौतम र चित्रशेन राजवंशीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
मिलापत्र गराउने थप तीन जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।
प्रहरीका अनुसार गत २० असारमा शारीरिकरूपमा अशक्त १६ वर्षीया किशोरीलाई तीन यूवा मिलेर सामूहिक बलात्कार गरेका थिए । स्थानीय २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रिन्स अधिकारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । अर्का आरोपी २३ वर्षीय सविन चौधरी भने फरार रहेका छन् । सो घटनालाई गाउँमै मिलापत्र गराई लुकाइएको थाहा पाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
पीडितलाई सहिछाप गराएर १ लाख ५० हजार रूपैयाँ दिने शर्तमा मिलापत्र गराइएका थियो । बलात्कार भएको ६ दिनपछि २६ गते भएको मिलापत्रमा साउन ६ गते रकम दिने उल्लेख छ । तर तोकिएको मितिअगावै प्रहरीले अनुसन्धान थालेपछि रकमको लेनदेन भने हुन पाएन । आमाले घर छाडेपछि बाबुको बेवास्ताका कारण किशोरी आफन्तको घरमा बस्दै आएकी थिइन् ।