पूर्वाञ्चल खबर
विराटनगर / टी–२० विश्वकप क्रिकेटको एसिया फाइनल चरणको खेलमा नेपाल विजयी भएको छ ।
आज भएको खेलमा ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङसँगै नेपालले आफ्नो दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ । नेपालको २ खेलमा १ जित र १ हार सहित २ अंक पुगेको छ । मलेसियाले यस अघि पहिलो खेलमा कुवेतलाई पराजित गरिसकेको छ र समान २ अंक रहेको छ । यस अघि भएको पहिलो खेलमा नेपाल कुवेतसँग ४ विकेटले पराजित भएको थियो ।
सिंगापुरको ईण्डियन एसोसियसन क्रिकेट मैदानमा वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य लक्ष्य नेपालले ८ ओभर ३ विकेट गुमाई सो विजयी लक्ष्य भट्टाएको थियो । नेपालको जितमा आजको खेलको कप्तान ज्ञानेन्द्र मल्लले २१ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ५१ रन बनाएर आउट भएका थिए । त्यस्तै आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे भने सरद भेषावकर ३ रनमा अविजित रहेका छन् । त्यस्तै प्रदिप ऐरी १२ रन र दिपेन्द्रसिंह ऐरी २ रन बनाएर आउट भएका थिए । मलेसियाका महमद स्यादतले ३ विकेट लिए ।
वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएपछि नेपालले ८४ रनको लक्ष्य पाएको हो ।मलेसियाकालागि सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि सोमपाल कामीले ३ विकेट ,बसन्त रेग्मीले २ विकेट तथा सन्दीप लामिछाने र करन केसीले १–१ विकेट लिए ।
चोटका कारण मलेसियाविरुद्ध नेपाली टिमका कप्तान पारस खड्का टिममा छैनन् । मंगलबार कतारविरुद्वको खेलमा उनी चोटिल बनेका थिए ।
मल्लको कीर्तिमानी अर्धशतक
नेपालको जितमा मल्लले कीर्तिमानी अर्धशतक बनाए । आक्रामक पारी खेलेका उनले २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाएका हुन् । यो नेपाली खेलाडीले सबैभन्दा कम बलमा बनाएको अर्धशतक हो । यस अघि ३ हप्ता अगाडि मलेसियामा भएको खेलमा विनोद भण्डारीले २५ बलमा अर्धसतक प्रहार गर्दै सो किर्तीमान राखेका थिए ।