पूर्वाञ्चल खबर
धनगढी / सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिका–३ शहीद गेटमा शक्तिशाली बम विष्फोटमा घाइते ५ मध्ये १ जनाको मृत्यु भएको छ ।
विस्फोटमा परी गम्भीर घाइते राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति ११ बजेर १५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले पुष्टि गरेको छ ।
मृत्यु भएका सिंह विप्लव समूहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुका पौने सातबजे स्थानीय निलम होटेलमा विष्फोट हुँदा होटेल सञ्चालक केशवराज पाण्डेयसहित पाँचजना घाइते भएका थिए ।
विष्फोटमा परी ठेगाना खुल्न नसकेका लक्ष्मण सेरेला, मोबिन खान, जीतेन्द्र यादव घाइते भएको जनाइएको छ ।
घाइते भएका होटल सञ्चालक पाण्डेको अवस्था पनि गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, आफैंले बोकेको बम विस्फोट हुँदा सिंहको कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो ।