पूर्वाञ्चल खबर
विराटनगर / न्युजिल्याण्डलाई पराजित गर्दै आयोजक इंग्ल्याण्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को सेमीफाइनलमा प्रवेश गगरेको छ । आयोजक इंग्ल्याण्ड सेमीफाइनलमा प्रवेश गर्दै पाकिस्तानलाई ठुलो झट्का लागेको छ । पाकिस्तान सेमीफाइनलमा पुग्नलाई बंगलादेशसँग हुने अन्तिम खेलमा भारी अन्तरले जित्नु पर्ने छ । नत्र न्युजिल्याण्ड नै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

९ खेल खेलेका इंग्ल्याण्डले ६ खेलमा जित र ३ खेलमा हार ब्यहोर्दै १२ अंक बनाएर विश्वकपको सेमिफाइनल पुगेको हो । यसअघि अष्ट्रेलिया र भारत विश्वकपमा पुगिसकेका थिए । ९ खेल खेलेको न्युजिल्याण्डले ५ खेलमा जित १ खेल रद्ध र ३ मा पराजित हुँदै ११ अंकका साथ चौथो स्थानमा रहेको छ । ८ खेल खेलेको पाकिस्तान ४ खेलमा जित १ खेल रद्ध र ३ मा पराजित हुँदै ९ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।
बुधबार राति सकिएको खेलमा न्युजिल्याण्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा इंग्ल्याण्डले दिएको ३ सय ६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४५ ओभरमा अलआउट हुँदै १ सय ८६ रनमा समेटियो । न्युजिल्याण्डका लागि टम लाथमले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै रोस टेलरले २८ रन बनाउँदा कप्तान केन विलियम्सनले २७ रन बनाए । इंग्ल्याण्डका मार्क वुडले ३ विकेट लिँदा जोफ्रा आर्चर, क्रिस ओएक्स, लियाम प्लुङकेट, अदिल रसिद र बेन स्टोक्सले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो । इंग्ल्याण्डका लागि ओपनर जोनी बेयस्ट्रोले शतकीय इनिङ्स खेल्दै ९९ बलमा १५ चौका र १ छक्काको मद्दतले १ सय ६ रन बनाउँदा जासन रोयले ६० रन, कप्तान इयान मोर्गेन ४२ रन , जोय रुट २४ रन , आदील रशिद १६ रन , लाइम प्लुन्केट १५ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्स निशमले समान २–२ विकेट हात पारे ।