पूर्वाञ्चल खबर
विराटनगर / २७ वर्षपछी भारतलाई पराजित गर्दै आयोजक इंग्ल्याण्डले जारी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।
इंग्ल्याण्डसँग भारतले विश्वकपमा सन् १९९२ पराजित भएको थियो । अब सेमिफाइनलमा पुग्नका लागि इंग्ल्याण्डले ३ जुलाईको खेलमा न्युजिल्याण्डलाई हराउनु पर्ने हुन्छ ।
हारपछि पनि भारत दोस्रो स्थानमा कायम छ । उसको ७ खेलमा ५ मा जित १ मा पराजित र १ खेल रद्धका कारण ११ अंक छ । जितले इंग्ल्याण्ड पाकिस्तानलाई पछि पार्दै शीर्ष चारमा उक्लिएको छ । उसको ८ खेलमा५ मा जित ३ मा पराजितकासाथ १० अंक भएको छ । पाकिस्तानको ९ अंक छ ।
आइतबार भएको खेलमा भारतलाई इंग्ल्याण्डले ३१ रनले पराजित गरेको छ । ३ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको भारतले पूरै ओभर खेल्दै ५ विकेटको क्षतिमा ३ सय ६ रन बनायो । भारतका लागि रोहित शर्माले शतकीय पारी खेले । उनले १ सय ९ बलमा १५ चौकाको सहयोगमा १ सय २ रनमा आउट भए। यस्तै कप्तान विराट कोहलीले ६६ रन बनाउँदा हार्दिक पाण्डेयले ४५ रन , महेन्द्र सिंह धोनीले नटआउट ४२ रन र विश्वकपमा पहिलो मौका पाएका ऋषभ पन्तले ३२ रन बनाए पनि हार टार्न भने सकेनन् । इंग्ल्याण्डका लियम प्लुन्किट्टले ३ विकेट र क्रिस वोक्सले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको इंग्ल्याण्डले ७ विकेटको क्षतिमा ३ सय ३७ रनको विशाल योगफल तयार पारेको थियो । इंग्ल्याण्डका लागि जोनी बेयरेस्टले शतकीय पारी खेल्दै १ सय ९ बलमा १० चौका र ६ छक्का सहयोगमा १ सय ११ रनमा आउट हुँदा बेन स्टोक्सले ७९ रन , ज्यासन रोयले ६६ रन र जोय रुटले ४४ रनको योगदान दिए । भारतका मोहम्मद शमीले ५ विकेट लिँदा जसप्रीत बुमराह र कुलदीप यादवले १–१ विकेट लिए । जारी विश्वकपमा सामीले ३ खेलमा १३ विकेट लिएका छन् ।