पूर्वाञ्चल खबर
सुनसरी / इटहरीमा जारी एरिना प्रिमियर रात्रीकालिन क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती भएको खेलमा नेपाली सेनाको बिभागिय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ । गएराती भएको खेलका आर्मीले विराटनगरलाई ३२ रनले पराजित गरेको हो ।
इटहरी क्रिकेट मैदानको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय ६८ रनको योगफल खडा गरेको थियो । आर्मीको लागी अनिल मण्डलले सर्वाधिक ६३ रनको उत्कृष्ट इनिङ खेले । राजु रिजालले ३८ रन बनाउँदा हरिकृष्ण झाले २८ रन बनाए । विराटनगरका अमृत मण्डल र सौगात भटराईले समान २–२ बिकेट लिए ।
जवाफमा १ सय ६९ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३६ रनमा सिमित भयो । विराटनगरका लागी दिपक पासवानले ४६ रन बनाउँदा पुष्प थापाले ३० रन जोडे । आर्मीका हरिकृण झाले र चन्द्र साउदले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच आर्मीका अनिल मण्डल घोषित हुदै नगद १ हजार पाए । विजेताले नगद १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने प्रतियोगितामा दुई विभागिय टिम सहित ८ टोलीको सहभागिता रहेको छ ।