पूर्वाञ्चल खबर
विराटनगर / विराटनरको शहिद मैदानमा हुने पाँचौ साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज सावित विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
आज दिउँसो तीन बजे सुरु हुने फाइनल खेलमा नेपाल इतिहास रच्न मैदानमा उत्रिने छ भने भारत लगातार पाँचौ पटक उपाधि हत्याउँने दाउमा मैदान प्रवेश गर्ने छ ।
भारतविरुद्ध चौथो पटक साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रतिस्पर्धा गर्न लागि रहेको नेपाल आफ्नै भूमिमा उपाधि उचाल्न आतुर रहेको छ । साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म भारतले कुनै खेल हारेको छैन । साफमा अपराजित रहेको भारतको यात्रा रोकेर साफ च्याम्पियन बन्ने उद्देश्यमा छ नेपाली टिम ।
साफ महिला च्याम्पीयनसिपको फाइनलको पूर्वसन्धामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रमुख प्रशिक्षक हरि खडका भनेका छन् घरेलु मैदानमा आयोजना भएको साफ महिला फुटबल च्याम्पियनसिपमा दक्षिण एसियाको पावर हाउस भारतलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताए । ‘पछिल्ला दुई खेलको नतिजा हेर्ने भने भारतमाथि नेपाल हावि रहेको ’ प्रशिक्षक खड्काले भने । अवश्य हामी त्यो रेकर्ड ब्रेक गर्छौं’ प्रशिक्षक खड्का विश्वस्त देखिन्छन् । नेपालभन्दा कमजोर चाहिँ छैन भारत ।
पूर्व खेलाडीसमेत रहेका खड्काले महिला टोलीको प्रशिक्षण सम्हालेपछि नेपाल र भारतबीच दुई पटक भेट भएको छ । ओलम्पिक खेलकुदको एसिया छनोटमा नेपालले भारतसँग १–१ को बराबरी खेलेको थियो । त्यसपछि हिरो वुमन्स गोल्डकपमा भएको भेटमा नेपालले भारतलाई उसकै घरेलु मैदानमा २–१ गोल अन्तरले हरायो ।
यो जितले नेपाली फुटबलरहरुको मनोबल निकै उच्च बनाएको छ । खड्काको दाबीलाई मान्ने हो भने उनले नेपाली खेलाडीमा रहेको भारतको भूतलाई हटाएका छन् । मैदानमा कुनै प्रेसर नदिने हुँदा ढुक्क भएर आत्मविश्वासहित खेलाडीको प्रस्तूति रहने उनको बुझाइ छ । भारतीय टीमसँग देशविदेशमा खेलेको धेरै अनुभव भएपनि उसको देशमा जीतेको नजिर र घरेलुदर्शकको साथले हौसला बढ्ने आधार रहेको खड्काले प्रस्ट्याए।
‘आफ्नै देशमा भइरहेको साफ च्याम्पियनसिपको उपाधि उचाल्ने यो पटक सुनौलो अवसर छ । हामी त्यही अनुसारको रणनीति बनाउछौँ’, प्रशिक्षक खड्काले भने ।
नेपाली टोलीको सुधारिएको स्ट्राइकिङ लाइन र डिफेन्स उपाधि जित्ने मुख्य आधार रहेको प्रशिक्षक खड्का बताउँछन् । दक्षिण एसियामा उत्कृष्ट रहेको नेपालको स्ट्राइकिङ लाइन भारतलाई पराजित गर्ने मुख्य हतियार हो ।जारी साफ च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गर्दा भारतले तीन खेलमा १५ गोल गरिसकेको छ ।
पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा श्रीलंकालाई ५–० र सेमिफाइनलमा बंगलादेशलाई ४–० गोलअन्तरले पराजित गरेको थियो ।
यता नेपालले जारी साफमा तीन खेलबाट १० गोल गरेको छ । उद्घाटन खेलमा भुटानलाई ३–० गोलले पराजित गरेको नेपालले बंगलादेशलाई पनि ३–० गोलअन्तरले नै पराजित गरेको थियो । सेमिफाइनलमा श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गरेको नेपाल फाइनलमा भारतविरुद्ध पनि यस्तै नतिजा ल्याउने लक्ष्यमा छ ।
आयोजक नेपालको पछिल्लो समयको प्रदर्शन हेर्ने हो भने उत्कृष्ट छ । भारतलाई मात्रै पछिल्लो समयमा एक खेलमा बराबरी र एक खेलमा पराजित गरेको छ । त्यसकारण पनि नेपाली खेलाडीमा उच्च आत्मविश्वास छ ।