पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर विमानस्थलबाट डिजल चोरी गर्ने ४ जनाको समुहलाई प्रहरीले पक्राउ गरी आज सार्वजानिक गरेको छ ।
गत पौष २२ गते राती विमानस्थलको स्टोरमा राखिएको ४ सय लिटर डिजल चोरी भएको भनी नागरिक उड्यन कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएसंगै अनुसन्धानमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा विराटनगर महानगपालिका ४ घर भई विमानस्थलमै चौकीदारको रुपमा कार्यरत ४८ बर्षीय भोला यादव, निजकै छोरा १८ बर्षीय मुकेश यादव र २२ बर्षीय अमित यादव तथा बिराटनगर ४ कै १९ बर्षीय रामचन्द्र यादव रहेका छन् । उनीहरु मध्ये चौकीदार यादवले स्टोरमा डिजल रहेको सूचना दिने र २ छोरा तथा अर्का सहयोगीले रातको समयमा विमानस्थलको पश्चिम तर्फको सिमानाबाट बाहिर लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी. जानकारी गराए ।
प्रहरीले घटनास्थलबाट लुकाएर राखेको अवस्थामा ९० लिटर डिजल समेत बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी मुद्धामा म्याद थप भई अनुसन्धान भई मोरङ प्रहरीले जनाएको छ ।