पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको बास्केटबलको उपाधि अरनिको कलेजले जितेको छ । फुटबलमा मोर्डनएरा र ग्रिनल्याण्ड कलेज, क्रिकेटमा मेरिल्याण्ड र अरनिको तथा छात्र भलिबलमा ग्रिनल्याण्ड, सिर्जनाज्ञान, मोर्डनएरा र कान्तिपुर कलेज विजयी भएका छन् ।
हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको बास्केटबलको फाइनलमा अरनिको कलेजले शिक्षादीप कलेजलाई ४०–१३ स्कोरमा पराजित गर्दै उपाधि जितेको हो । खेलको म्यान अफ द म्याच २० स्कोर गर्ने अरनिकोका अभिज्ञान यादव भए ।
त्यस्तै छात्र भलिबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले शिक्षादीप कलेजलाई २५–२३ र २५–२० को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच ग्रिनल्याण्डका सन्तोष श्रेष्ठ भए । दोस्रो खेलमा सिर्जना ज्ञानकुञ्ज स्कूलले २५–१४ र २६–२४ को सोझो सेटमा पथरीको एभरेष्ट कलेजलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच सिर्जनाका रिजन विष्ट भए । तेस्रो खेलमा मोर्डनएरा कलेजले २५–१२ र २५–२० को सोझो सेटमा लर्डबुद्ध कलेजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच लर्डबुद्धका भुपाल लिम्बू भए । चौथो खेल कान्तिपुर कलेजले २५–१५ र २५–१० को सोझो सेटमा सिटी कलेजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै क्रिकेटको पहिलो खेलमा मेरिल्याण्ड कलेजले ग्रिनल्याण्ड कलेजलाई पराजित गर्दै सेमिफाइनलमा पुग्यो । दोस्रो खेल अरनिको कलेजले लर्डबुद्ध कलेजलाई २ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुग्यो । टस जितेर पहिलो ब्याटिङ गरेको लर्डबुद्धले १७ ओभर ४ बलमा सबै विकटे गुमाउँदै ८२ रन बनायो । जसमा साइरस राय र रितेश झाले १५–१५ रन बनाए । अरनिकोका आयुष भगत र विक्रम यादवले ३–३ विकेट लिए भने प्रशान्त पोखरेलले २, अमित झा र अभिज्ञान यादवले १–१ विकेट लिए ।
८३ रनको विजयी लक्ष्य पछ्याएको अरनिकोले १८ ओभर ३ बल खेल्दै ८ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो । जसमा प्रज्वल श्रेष्ठले १८ रन र अभिज्ञान यादवले १२ रन बनाए । लर्डबुद्धका पवन साहले ३ तथा सुमन मण्डल र सुभाष निरौलाले २–२ विकेट लिए । म्यान अफ द म्याच अरनिकोका विक्रम यादव घोषित भए ।
त्यसैगरी फुटबलको पहिलो खेल मोर्डनएरा कलेजले कोसी कलेजलाई १–० गोलमा पराजित गर्दै फाइनलमा प्रवेश गरको छ । मोर्डनएराका सुमन मगरले एकमात्र निर्णायक गोल गरे । म्यान अफ द म्याच कोसीका प्रवीण राई भए । दोस्रो खेलमा ग्रिनल्याण्ड कलेजले रेडस्टार स्कुललाई टाइब्रेकरमा ५–४ गोलमा पराजित गर्दै फाइनलमा पुगेको छ । उपाधि जितका लागि ग्रिनल्याण्ड र मोर्डनएराबीच बुधबार खेल हुनेछ ।
प्रतियोगिताको मंगबारको भलिबल छात्रतर्फ पहिलो खेल ग्रिनल्याण्ड र कोसी तथा दोस्रो खेल सिर्जनाज्ञान कुञ्ज र बाल्मिकीबीच हुनेछ । क्रिकेटको पहिलो खेल मेरिल्याण्ड र कोसी तथा दोस्रो खेल अरनिको र अर्किडबीच हुनेछ ।