पूर्वाञ्चल खबर
विराटनगर /कप्तान पारस खड्काको सतकको मद्दतले नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । यो जितसँगै नेपालले तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ ।
दुबईस्थित आइसिसी एकेडेमीमा भएको सिरिजको अन्तिमे खेलमा नेपालले आज युएईलाई विकेटले पराजित गरेको हो । नेपालको जितमा कप्तान पारस खड्काको उल्लेखनीय योगदान गरे । उनले १ सय ९ बलमा १५ चौका र एक छक्काको प्रहार गर्दै १ सय १५ रनको योगदान दिए । एकदिवसीय क्रिकेटमा पारसको यो पहिलो शतक हो ।
गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो ।
यूएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपालले ४४ दशमलव ४ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । नेपालका लागि ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा ३१ रन , अर्का ओपनर बसन्त भण्डारीले १७ बलमा ९ रन बनाएका थिए। त्यस्तै, दिपेन्द्रसिंह ऐरीले ६ रन तथा सन्दिप जोराले २० बलमा १९ रन, रोहित पौडेलले २४ बलमा १६ रन बनाए। अन्तिममा क्रिजमा रहेका सोमपाल कामी र आरिफ शेखले त्यसलाई पूर्णता दिए । सोमपाल २६ रन र आरिफ २१ रनमा अविजित रहे । यूएईका इम्रान हैदर र अस्फाक अहमदले २–२ विकेट दिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेटको गुमाई २ सय ५४ रन बनाएको थियो । यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे ।
यूएईको स्कोर १४५ रन हुँदा पाँचौं विकेटका रुपमा रिवाज ४५ रनमा आउट भए । उनलाई करण केसीले आउट गरे ।
तर, सातौं नम्बरमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर आक्रामक पारी खेलेपछि यूएईले राम्रो स्कोर बनायो । दुबैले छैटौं विकेटका लागि ८० रनको महत्वपूर्ण साझेदारी गरे । अनवर ८७ रनमा आउट भए ।
आक्रमब ब्याटिङ गरेका बुटाले मात्र ३१ बलमा अविजित ५९ रन बनाए । मोहम्मद नाबिद ११ रनमा नटआउट रहे ।
नेपालका लागि करण केसीले दुई विकेट लिए । सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए । पारस खेलको म्यान अफ द म्याच घोषित भए ।