पूर्वाञ्चल खबर
सुन्दरहरैंचा / नेपाली सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले दुर्गादेवी दुलाल सुन्दरहरैंचा अन्तराष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष जोडी तर्फ उपाधी जितेका छन् ।
तामाङ्ग र श्रेष्ठको जोडीले एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीलाई २१–१८, २५–२३ को जित निकाल्दै ट्रफी उचालेका हुन् ।
विजयी खेलाडीहरुले एक लाख नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेता टोलीले नगद ५० हजार सहित मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेश्रो स्थान प्राप्त गर्नेले १५ हजार सहित मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
अन्य खेलहरुमा मिक्स युगल, पुरुष एकल र मास्टर्स जोडी तर्फको प्रतियोगिता मंगलबारनै सम्पन्न भईसकेको छ । मिक्स युगल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ५० हजार, २५ हजार र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । पुरुष एकल तर्फ बिजयी शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरे । मास्टर्स तर्फ शिर्ष तीनका खेलाडीले क्रमश ३५ हजार, १५ हजार र ७ हजारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट, सुन्दरहरैंचा नगर पालिकाका मेयर शिवप्रसाद ढकाल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष भोलेश्वर दुलाललगायतले पुरस्कार वितरण गरेका थिए ।
सदस्य सचिवद्वारा ब्याडमिन्टन हलको उद्घाटन

यसै अवसरमा सुन्दरहरैंचा ८ सलकपुरमा १० कठ्ठा जमिनमा निर्माण गरिएको कभर्डहलको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले उद्घाटन गरे । करि २ करोड ५० लाखको लागतमा बनाईएको ब्याडमिन्टन हलमा दुई ब्याडमिन्टन कोर्टका साथै स्टेज निर्माण गरिएको छ ।
कभर्डहलको उद्घाटन गदै सदस्य सचिव बिष्टले सरकारले एक निर्वाचन क्षेत्रका एक खेल ग्राम निर्माण गर्ने नीति रहेको भन्दै हल निर्माण मात्र ठुलो कुरा नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरेमा मात्र त्यसको सार्थकता रहने बताए । उनले यस्ता उदाहरणिय कार्यलाई राष्ट्रिय खेलकुद परिषदले सदा सहयोग गर्ने बताए ।