पूर्वाञ्चल खबर
मोरङ / मोरङको मधुमल्लास्थित श्री रामस्मृति प्राविमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
अन्तर्राष्ट्रिय संस्था लायन्सको संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तिका अवसरमा लायन्स क्लब अफ विराटनगर एलिटले बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
अत्यन्तै विपन्न आर्थिक अवस्थाकै कारण न्यानो कपडा किन्न नसक्ने र लुगा नभएकै कारण विद्यालय नियमित नआउने समस्यालाई मध्यनजर गर्दै बालबालिकालाई न्यानो कपडा वितरण गरिएको एलिट क्लबका सचिव श्रीमन्त भट्टराईले जानकारी दिए । न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै सचिव भट्टराईले भने, ‘आर्थिक विपन्नताकै कारण नियमित विद्यालय जान नसक्ने समस्या व्यापक छ । यसलाई न्युनिकरण गर्न राज्यपक्षसँग सहकार्य गर्दै सामाजिक संघसंस्थाहरुले विशेष चासो दिनुपर्छ ।’
खोलाको डिल नजिकै, बाँसको टाटी लगाएर निर्माण गरिएको विद्यालयको भौतिक संरचना तथा शैक्षिक स्तर विकासमा सबै क्षेत्रले पहल गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
विद्यालयमा ३० बालबालिका अध्ययन गर्दैआएकोमा २३ बालबालिका भने नियमित आउने गरेको विद्यालय प्रशासनले जनाएको छ । लायन्स क्लब अफ मधुमल्ला र लायन्स क्लब अफ मिक्लाजुङको संयुक्त सहकार्यमा आयोजना गरिएको न्यानो कपडा हस्तान्तरण कार्यक्रममा जोन चेयर पर्सन कोमल शाक्य, स्थानीय वडाका अध्यक्ष तथा बालबालिकाका अभिभावकहरुकोसमेत सहभागिता रहेको थियो ।