AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको अरनिको कलेजका दुई पूर्वविद्यार्थी उपकुलपतिमा नियुक्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ भाद्र २०८३, सोमबार १९:१३
3
Shares
विराटनगर / विराटनगरको अरनिको कलेजका दुई पूर्वविद्यार्थी प्रा. डा. विवेक बराल र प्रा. डा. स्मृति कार्की दुई प्रतिष्ठित विश्वविद्यालयका उपकुलपति पदमा नियुक्त भएका छन्।

अरनिकोका पूर्वविद्यार्थी प्राडा बराल काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा नियुक्त भएका हुन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीसमक्ष गठित सिफारिस समितिको सिफारिसका आधारमा उनलाई विश्वविद्यालयको सर्वोच्च कार्यकारी पदमा नियुक्त गरिएको हो।

यस ऐतिहासिक नियुक्तिसँगै अरनिको आवासीय मावि विराटनगर परिवार गौरवान्वित भएको विद्यालयका सञ्चालक भरत दाहालले बताए। प्राडा बराल काठमाण्डौ विश्वविद्यालयकै उत्पादन भएर सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन् ।

प्राडा बरालले काठमाण्डौ विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका थिए। त्यसपछि जापानको प्रतिष्ठित टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर तथा न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरे। इन्धन, ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषणजस्ता महत्त्वपूर्ण विषयका विज्ञका रूपमा परिचित उनले लामो समयदेखि प्राध्यापन, अनुसन्धान तथा शैक्षिक नेतृत्वका क्षेत्रमा योगदान पुर्‍याउँदै आउएका छन्।

त्यसैगरी, अरनिकोकी अर्की पूर्वविद्यार्थी प्राडा स्मृति कार्की बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पदमा नियुक्त भएकी हुन्। वरिष्ठ शिक्षाविद्, चिकित्सा शिक्षक, अनुसन्धानकर्ता तथा प्याथोलोजिस्टका रूपमा परिचित डा कार्कीसँग चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान तथा संस्थागत नेतृत्वमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ।

डा. कार्कीले अरनिको स्कुलपछि भारतको आन्ध्र प्रदेशस्थित इन्टरमिडिएट शिक्षा बोर्डबाट प्रमाणपत्र तह, बङ्गलादेशको जेएच सिकदर महिला मेडिकल कलेजबाट सन् २००० मा एमबीबीएस तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट सन् २००५ मा प्याथोलोजीमा एमडी पूरा गरेकी थिइन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो महिला उपकुलपतिका रूपमा उनको नियुक्ति आफैंमा ऐतिहासिक उपलब्धि हो। उनको नियुक्तिले चिकित्सा शिक्षा, अनुसन्धान, प्रशासन, संस्थागत सुशासन तथा व्यावसायिक नेतृत्वमा महिलाको भूमिका र सहभागितालाई समेत थप उचाइ दिएको छ।

अरनिको विद्यालयबाट शिक्षा हासिल गरेका दुई प्रतिभाशाली व्यक्तित्व एकै समय देशका प्रतिष्ठित विश्वविद्यालयका उपकुलपति पदमा पुग्नु विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण अरनिको परिवारका लागि गौरवको विषय हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर