पूर्वाञ्चल खबर
विराटनगर / सामाजिक विकास मन्त्रालयले विद्यालयबाट झोला र किताव विस्थापीत गर्ने भएको छ । पाईलट प्रोजेक्टका रुपमा प्रदेश नं. १ का एक सय विद्यालयबाट कार्य शुरु गरिन लागेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।
दश बर्ष भित्रमा प्रदेश नं. १ का सवै विद्यालयबाट झोला र किताव विस्तापीत गरिने उनको भनाई छ । आर्थिक बर्ष २०७५/०७६ मा मन्त्रालयबाट भएका कामबारे आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले समयको माग इ–एजुकेशन भएकाले मन्त्रालयले सो योजना अघि सारेको बताए । मन्त्री घिमिरेले भने,‘ अमेरिकामा वसेर नेपालमा कक्षा हुने समय आईसक्यो, हामी कितावको भारी बोकाएर विद्यालय पठाईरहेका छौं ।’ समयको गतिसँग चल्नका लागि यो कार्यक्रम शुरु गर्ने तयारी गरिएको उनको भनाई छ ।
मन्त्री घिमिरेले अभिभावकका लागि पनि इएजुकेशन आवश्यक रहेको बताउँदै आगामी ५ बर्ष भित्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने दावी समेत गरे । केही विद्यालयमा त्यसको लक्षण समेत देखा पर्न थालेको उनको भनाई छ । मन्त्री घिमिरेल विराटनगरको पोखरिया, सत्यनारायण झापा दकमको हिमालय माविलगायतका विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार हुँदै गएको बताए ।
ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तर सुधारकालागि बजारका निजी विद्यालयहरुसँग भगिनी सम्बन्ध स्थापना गरी सहयोग आदान प्रदानको सुरु भएको छ ।
विराटनगरको मोर्डनएरा र खोटाङको जल्पा माध्यमिक विद्यालयबीच मितेरी सम्बन्ध कायम गरिएको छ । मितेरी सम्बन्ध कायम भएपछि दुई विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न निःशुल्क सहयोग आदान प्रदान गर्ने मन्त्री घिमिरेको भनाइ छ ।
सामुदायिक विद्यालयको गुणस्तर सुधारकालागि पूर्वविद्यार्थीहरुलाई पनि आग्रह गर्ने अभियान चलाइएको मन्त्री घिमिरेले बताए । ‘हामी मध्ये धेरै सामुदायिक विद्यालय पढेर आएका छौं,’ उनी भन्छन्, ‘आफ्नो स्कूल आफै बनाउ भन्दै पढेको विद्यालय सुधारका अभियान चलाउछौ ।’
मन्त्रालयले खर्च गर्न थाल्यो वजेट
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले वजेट खर्चका लागि प्रकृया सुरु गरेको छ । मन्त्रालयले पहिलो ९८ करोड २२ लाख १ हजार रुपैया निकासा गरिसकेको बताएको छ ।
मन्त्रालयले प्रदेश सङ्ग्राहलयलाई ४२ लाख, स्वस्थ्य निर्देशनालयलाई १ करोड,६७ लाख ३५ हजार,कोशी अंचल अस्पताललाई १२ करोड १२ लाख ८८ हजार,मेची अंचल अस्पताल ४ करोड २८ लाख ८८ हजार,शिक्षा तालिम केन्द्र सुनसरीलाई ४ करोड ८५ लाख ४२ हजार,शिक्षा विकास निर्देशनालय धनकुटालाई ३१ करोड ७५ लाख ४२ हजार, प्रदेशका अस्पतालहरु कार्यक्रम खर्चलाई ४० करोड १८ लाख २५ हजार,रोजगार सुचना केन्द्रलाई १९ लाख ८३ हजार,सीप विकास लातिलम केन्द्रलाई २ करोड ७१ लख ९८ हजार निकासी गरिसकेको छ । ३ करोड ९९ लाख ९२ हजार बाकी रकम केन्द्रमा फिर्ता पठाएको बताएको छ । मन्त्रालयको आर्थिक वार्ष २०७५/७६ को वजेट ३ अर्ब ६८ करोड ८७ लाख छ ।