AArya
RUMPUM
animated ellipse animated ellipse

नौमती बाजामा महिलाको पौरख

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ श्रावण २०८३, आईतवार १५:१८
3
Shares
विराटनगर / विराटनगर–३ की सरस्वती खनाललाई आजभोलि घरको कामले भन्दा बढी ‘बाजाको ताल’ ले पछ्याइरहन्छ ।

शुभसाइत, विवाह वा कुनै सभा–सम्मेलनको निम्तो आउनासाथ उनी आफ्नो टोली सम्हाल्दै नरसिंगा र दमाहाको धुनमा हराउँछिन् । कुनै समय पुरुष र निश्चित समुदायको मात्रै सिमित मानिने ‘नौमती बाजा’ अहिले सरस्वतीजस्ता महिलाहरूको पहिचान र आम्दानीको बलियो स्रोत बनेको छ ।

दुई वर्ष अघिसम्म सरस्वतीका हातहरू घरायसी काममा मात्रै सीमित थिए । तर, जब विराटनगर महानगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन र मौलिक संस्कृति जोगाउन नौमती बाजाको तालिम दियो, सरस्वतीसहितको टोलीले एउटा नयाँ बाटो रोज्यो । अहिले उनीहरूले ‘जागरुक महिला नौमती बाजा समूह’ गठन गरेर व्यावसायिक यात्रा सुरु गरेका छन् ।

“सुरुमा त बाजा बजाउन सकिँदैन कि, समाजले के भन्ला कि भन्ने डर लागेको थियो,’’ समूहकी अध्यक्ष सरस्वती खनाल सम्झिन्छिन्, “तर सिकिसकेपछि अहिले यस्तो लाग्छ— सीप भए महिलाले गर्न नसक्ने केही छैन । अहिले हामीलाई जिल्ला भित्र मात्र होइन, बाहिरबाट पनि माग आउन थालेको छ ।’’

परम्परा तोड्दै नयाँ अभ्यास
यो समूहमा सरस्वती खनालको नेतृत्वमा ९ जनाको टोली छ । जसमा ८ जना महिला र १ जना पुरुष छन् । टोलीमा प्रमिला नेपाल, मेनुका कोइराला, बालकुमारी (बालिका) राई, उमा भट्टराई, अम्बिका थापा, दुर्गा पोखरेल र सावित्रा अधिकारी जस्ता उत्साही महिलाहरू छन् । यो टोलीले जात र लिंगको परम्परागत बार मात्रै तोडेको छैन, लोप हुन लागेको मौलिक बाजालाई नयाँ जीवनसमेत दिएको छ ।

बाजाको बाँडफाँड पनि रोचक छ । नरसिंगा र दमाहा दुर्गा पोखरेल र प्रमिला नेपालीले कुशलतापूर्वक सम्हाल्छन् । ट्याम्को सरस्वती आफैंले बजाउँछिन् भने सनई मेनुका कोइरालाले सम्हाल्छिन् । यस्तै, बालकुमारीले दमाहा र ट्याम्को, उमाले मादल, अम्बिकाले झ्याली र सावित्राले दमाहा बजाएर माहोल तताउँछन् ।

टोलीमा एकजना पुरुष सदस्य राजु परियार पनि छन् । सनई बजाउन बढी परिश्रम र लामो श्वास चाहिने भएकाले सहयोगका लागि उनलाई पनि टोलीमा राखिएको छ । राजु टाउकोमा ढाका टोपी र ‘रामनामी’ खास्टो (थका) मा सजिन्छन् । महिलाहरू पनि आफ्नै मौलिक पोसाकमा सजिन्छन् । परम्परागत रूपमा पुरुषहरूले बाँध्ने ‘फेटा’ को साटो उनीहरूले आफ्नै शैलीको मर्यादित पोसाक हिरीयो चोला र सातो साडी रोजेका छन् । “संस्कृति जोगाउने हाम्रो लक्ष्य हो, तर हामीले आफ्नो मौलिकता र महिलाको गरिमालाई ध्यानमा राखेर आफ्नै पोसाक रोजेका छौँ,’’ अध्यक्ष खनाल भन्छिन् ।
विराटनगरदेखि काठमाडौँसम्मको यात्रा
विराटनगर महानगरपालिकाले दिएको एक महिने तालिम नै उनीहरूका लागि जीवनको नयाँ मोड बन्यो । दुई वर्ष अगाडी माहानगरपालिकाले दिएको तालिमपछि हौसिएका महिलाहरू अहिले मोरङ जिल्लामा मात्रै सीमित छैनन् । उनीहरूको माग कोशी प्रदेशका विभिन्न जिल्लादेखि काठमाडौँ र हेटौँडासम्म पुग्ने गरेको छ ।
“पश्चिमेली संस्कृतिको प्रभाव र युवापुस्ताको अरुचिले गर्दा हाम्रो मौलिक नौमती बाजा लोप हुने अवस्थामा पुगेको थियो,’’ समूहकी सदस्य मेनुका कोइराला भन्छिन्, “त्यसैले हामीले यसलाई व्यावसायिक बनाउने निर्णय गर्यौँ । अहिले विवाहको सिजनमा हामीलाई भ्याइनभ्याइ हुन्छ ।’’

व्यावसायिकतासँगै उनीहरूको आम्दानी पनि राम्रो छ । विराटनगरभित्र एउटा विवाहमा बाजा बजाएको उनीहरू ३० हजार रुपैयाँ लिन्छन् । विराटनगर बाहिर दुरी र समय हेरेर ३५ हजारदेखि ७० हजार रुपैयाँसम्मको सम्झौता हुन्छ । काठमाडौँ जस्तो टाढाको ठाउँमा पुग्दा उनीहरूले १ लाख २० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन् । आएको रकम सबै सदस्यहरूले बराबर बाँड्छन् र केही रकम संस्थाको कोषमा पनि राख्छन् ।

सामाजिक सद्भाव र सशक्तीकरण
सुरुका दिनमा महिलाले बाजा बजाएको देख्दा समाजमा केही अनौठो मान्नेहरू पनि थिए । तर, अहिले समय बदलिएको छ । “जातीय वा लैङ्गिक आधारमा हामीले कुनै भेदभाव महसुस गरेका छैनौँ,’’ सरस्वती भन्छिन्, “बरु जहाँ जाँदा पनि मानिसहरूले सम्मानका साथ स्वागत गर्छन् । महिलाले पनि यस्तो कठिन बाजा बजाउन सकेको देख्दा दंग पर्छन् ।’’

अहिले विराटनगरमा मात्रै यो समूहको सिको गर्दै अन्य दुईवटा महिला नौमती बाजा समूहहरू पनि सक्रिय भएका छन् । यसले महिला सशक्तीकरणको नयाँ लहर ल्याएको छ ।
यी महिलाहरूका लागि घरपरिवारको साथ नै सबैभन्दा ठूलो ऊर्जा हो । “समाजले के भन्छ भन्दा पनि घरपरिवारले के भन्छ भन्ने कुराले अर्थ राख्छ,’’ अध्यक्ष खनाल भन्छिन्, “हाम्रो परिवारले पूर्ण साथ दिएका कारण नै हामी हेटौँडा–काठमाडौँसम्म पुग्न सकेका हौँ । बेरोजगार भएर बस्नुभन्दा सीप सिकेर आत्मनिर्भर हुनुको आनन्द नै अर्कै छ ।’’

स्थानीय सरकारको प्रोत्साहन
विराटनगर महानगरपालिका–८ का वडाअध्यक्ष राम पोखरेलका अनुसार महानगरले महिलाहरूलाई आत्मनिर्भर बनाउन र मौलिक संस्कृतिको जगेर्ना गर्न यस्तो तालिमलाई प्राथमिकता दिएको हो । “हामीले थुप्रै महिलाहरूलाई तालिम दिएका छौँ । अहिले उहाँहरू आफैं समूह बनाएर आम्दानी गरिरहनुभएको छ, यो एकदमै सकारात्मक पक्ष हो,’’ पोखरेल भन्छन् ।

आधुनिक ‘ब्याण्ड बाजा’ को शोरमा हराउन लागेको पञ्चेबाजा अहिले विराटनगरका यी महिलाहरूको हातमा सुरक्षित देखिएको छ । उनीहरूले बजाउने भजन, लोकदोहोरी र आधुनिक गीतको धुनले विवाह र उत्सवहरूमा छुट्टै रौनक थपेको छ । लोपोन्मुख संस्कृति जोगाउने र महिलालाई आर्थिक रूपमा सक्षम बनाउने यो अभियान मोरङका अन्य क्षेत्रका लागि पनि प्रेरणाको स्रोत बनेको विराटनगर ९ का स्थानीय देशबन्धु ढकाल बताउँछन् । ‘‘हामी पनि कुनै काजर्य र कार्यक्रम हुँदा जागरुक महिला नौमति वाजा समूहलाई बोलाउने गरिएको छ । उहाँहरुको वाजा बजाइले हाम्रो कार्यक्रमनै रमाइलो हुने गरेको छ,’’ औषधी व्यवसायी संघ मोरङका अध्यक्ष समेत रहेका ढकालले भने ।

जागरुक महिला नौमति बाजा समूहकी अर्का सदस्य प्रमीला नेपाल भन्छिन, “कुनै पनि काम सानो वा ठूलो हुँदैन, केवल इच्छाशक्ति र सीप भए पुग्छ ।’ नौमती बाजाको यो घन्काई केवल धुन मात्र होइन, यो महिलाहरूको आत्मविश्वास र आत्मनिर्भरताको गर्जन पनि हो ।’’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर