पूर्वाञ्चल खबर
सांसद मोती दुगडले संचालन गरेको उद्योगले समेत श्रम ऐन लागू नभएको पाइएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ३ मा सञ्चालन रहेको दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टर प्रालिले उत्पादन गर्नेे सेन्चुरी मसला, कुरमुरे, भूजिया उद्योगमा कार्यरत अधिकाश मजदुरले श्रम ऐनले तोके जतिको तलब नपाएको अनुगमन टोलीले बताए ।
पाँच वर्षदेखि दैनिक आठ घण्टा काम गर्दै आएका मोरङका बुढीगंगा गाउँपालिका अजयकुमार चौधरीले दैनिक ३ सय ९५ रूपैयाँमा काम गर्दै आएको बताए । यस उद्योगले यहाँ कार्यरत कुनै पनि श्रमिकलाई श्रम सम्झौतासमेत नगराइ काममा लगाउँदै आएको पाइएको छ । उद्योगमा काम गर्ने करिब ३ सय जना श्रमिकको अवस्था पनि उस्तै छ । उनीहरुलाई उद्योगले घण्टा अनुसार काम गरेको ज्यालावाहेको अन्य कुनै सुविधा अहिलेसम्म दिएको छैन् ।
सरकारले लागू गरेको श्रम ऐन अनुसार श्रमिकको न्यूनतम वेतन दैनिक ५ सय १७ रुपैयाँ तोकेको छ । तर श्रम कार्यालय विराटनगरले आज मोरङको चार वटा उद्योगहरू अनुगमन गर्दा अधिकाशं उद्योगले श्रम ऐनले तोके जतिको तलब र विभिन्न सेवा सुविधाहरू नदिएको पाइएको हो ।
श्रम कार्यालयले मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको आरती स्ट्रिप प्रालि, ३ मा रहेको दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टर प्रालि, बुढीगंगा ५ हात्तिमुडामा रहेको क्वालिटी नुडल्स इण्डष्ट्रीज प्रालिले उत्पादन गर्ने चाउँचाउ र विराटनगर १३ मा रहेको ट्राईकट इण्डष्ट्रिज प्रालिले उत्पादन गर्ने कपडाको उद्योगमा अनुगमन गरेको थियो ।
श्रम कार्यालयका प्रमुखसहित मजदुरसँग सम्बन्धी टेड्र यूनियन पुग्दा अधिकाश उद्योगमा कार्यरत मजदुरहरूले श्रम ऐनले तोके अनुसारको तलब र विभिन्न सेवा सुविधा नपाएको भन्दै दुखेसो पोखे । अनुगमनका क्रममा दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टर प्रालि, क्वालिटी नुडल्स इण्डष्ट्रीज, ट्राइकट इण्डष्ट्रीजले बर्षौदेखी यहाँ कार्यरत मजदुरहरूको श्रम शोषण, सम्झौता विना काममा लगाउने, लगायतको विभिन्न सेवा सुविधाहरू अहिलेसम्म उद्योगले नदिने गरेको पाइएकोे श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सन्जेलले बताए ।
अनुगमनको क्रममा जस्तापाताको उत्पादन हुने उद्योग आरती स्ट्रिपमा ९० प्रतिशत भारतीय मजदुहरू ल्याएर श्रम स्वीकृत बेगर काममा लगाएको पाइएको थियो । करिब ७ सय जना कार्यरत रहेको उक्त उद्योगमा अधिकाश मजदुर भारतबाट ल्याएर श्रम स्वीकृत बेगर काममा लगाउने गरेको छन् । भदौदेखि लागू भएको श्रम ऐनले ठेक्दारी प्रथाबाट श्रमिकलाई रोजगारीमा लगाउन नपाउने प्रावधन भए पनि अधिकाशं उद्योगले ठेक्दार मार्फत काममा लगाएको पाइएको श्रम कार्यालयले जनाएको छ ।
‘आकसमि रुपमा चार वटै उद्योगमा अनुगमन गर्दा सबै उद्योगमा श्रम ऐन लागु भएको देखिएन,’ श्रम कार्यालयका प्रमुख संन्जेलले भने, ‘श्रम ऐने कार्यान्वयमा समस्या देखियो । तत्काल श्रम ऐन लागु गर्न निर्देशन दिएको छु ।’ पहिलो चरणमा श्रम ऐन लागु गर्न निर्देशन दिएको जानकारी दिदै उनले पुन अनुगमनको क्रममा आउँदा श्रम एन लागू नभएको पाइए कानुनी प्रक्रिया अनुसार कारबाही गर्ने उनले बताए ।
अनुगमनमा नेपाल समाजवादी ट्रेड यूनियन महासंघको केन्द्रीय उपाध्यक्ष तेजलाल कर्ण, जिफन्ट नेपालको प्रदेश अध्यक्ष किशोर धमला, अखिल नेपाल ट्रेड युनियनका प्रदेश उपाध्यक्ष उपेन्द्र राय र नेपाल ट्रेड यूनिय मोरङका अध्यक्ष शुशिल कोइरालको उपस्थीति रहेको थियो ।