पूर्वाञ्चल खबर
विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी इङ्गिलस स्कूलले एक कार्यक्रम गर्दै स–साना बालबालिकालाई चाड पर्वको महत्व बुझाउँदै रमाइलो गराएको छ । चाड पर्वको विदा दिँदै गर्दा ति पर्वहरुमा के के हुन्छन् भन्ने विषयमा जानकारी गराएर विदा दिईएको हो ।
कार्यक्रममा दशैका पोशाकमा सजिएर विद्यालय पुगेका बालबालिकालाई प्रिन्सिपल टिकाराम पुरीसहित शिक्षक शिक्षीकाले टिका र जमरालगाई दक्षिणा दिएर विदा गरेका छन् ।
‘बालबालिकाले किताबी ज्ञान मात्र नभएर हाम्रो संस्कृती, संस्कार र परम्परालाई पनि बुझ्न आवश्यक छ’ विद्यालयका प्रिन्सिपल टिकाराम पुरी भन्छन्,‘बाल्यअवस्थाबाटै हामीले हाम्रो संस्ृकती बुझाउन आवश्यक छ ।’
गाउँले परिवेश झल्कने प्रदर्शनीमा राखिएका चिटिक्क परेको सानो घर, खसि, टाट्नो, मकै, ढिकि, जाँतो र डोकोलगायतका सामग्रीहरु देखेर बालबालिकासँगै अभिभावकहरु समेत रमाइरहेका थिए । यस्तै महान पर्व बडादशैका नवरात्रमा पुजा गरिने नौ दुर्गाको रुपमा सजिएका स–साना बालबालिका र पर्व चिनाउने सामाग्रीहरुको प्रदर्शनले सवै प्रशन्न देखिएका थिए ।
हरेक चाड पर्वका बेला यस्ता गतिविधिमा बालबालिकालाई प्रत्यक्ष सहभागि गराउँदै आएको एभरेष्टले लामो विदाका बेला मनाउने सवै पर्वका विषयमा जानकारी गराएको हो ।