AArya
RUMPUM
animated ellipse animated ellipse

‘चिनीको भाउ अस्वाभाविक बढ्नुमा सरकारकै मिलेमतो’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ आश्विन २०७५, शुक्रबार ०८:३४
3
Shares
काठमाडौं । पछिल्लो समय चिनीको मूल्य अत्यधिक बढ्नुमा सरकारकै मिलेमतो रहेको संसदीय समितिले निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीवारको बैठकमा अधिकांश सांसदले चिनीको बजार भाउ अत्यधिक बढ्नुुमा सरकार मुख्य दोषी रहेको बताउँदै सरकार बिचौलियाको चङ्गुलबाट बाहिर निस्कन नसकेको आरोप लगाए ।

बिचौलियाको प्रभाव परी हचुवाको भरमा सरकारले कोटा निर्धारण गर्दा समस्या उब्जिएको समितिले निष्कर्ष निकालेको हो । सांसद चन्दा चौधरीले भनिन्, ‘व्यवसायीले नै सरकार चलाएको जस्तो अनुभूति भएको छ ।’ उनले दैनिक उपभोग्य वस्तुमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि भएको भन्दै सरकार किन मौन बस्दै छ भन्दै प्रश्न गरिन् ।

सरकारसँग भएको सहमतिसँगै व्यवसायीले बैङ्क ऋण लिए पनि उखु किसानले भुक्तानी पाउन नसक्नुमा सरकार दोषी रहेको उनले बताइन् । सांसद हृदयेश त्रिपाठीले दैनिक उपभोग्य वस्तुको मूल्यमा बजारमा अराजकता देखिँदा पनि सरकार मौन रहेको आरोप लगाए । ‘बजार अनुगमन र नियमन सुस्त छ । निगरानीमा सरकार चुकेको छ, जसका कारण उपभोग्य वस्तुको मूल्य बढेको छ,’ उनले भने ।

सांसद प्रदीप यादवले चिनी आयातमा प्रतिबन्ध लगाउन नहुने बताउँदै उखु किसानले अहिलेसम्म आफ्नो उखुको मूल्य नपाएको बताए । अर्का सांसद राजेन्द्र केसीले एक हप्ताको बीचमा चिनीमा मात्र प्रतिकिलो रू. १५ सम्म मूल्यवृद्धि भएको भन्दै चाडबाडको मुखमा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि हुँदा कसरी सुखी नेपाली हुन्छन् भन्ने प्रश्न गरे । आजको आर्थिक अभियान दैनिकले यो समाचार छापेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर