पूर्वाञ्चल खबर
आज बंगलादेशबको बंगबन्धु राष्ट्रिय रंगशालामा भएको सेमिफाइनल खेलमा माल्दिभ्ससँग ३–० ले पराजित भएकसँगै नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो ।
। नवौं मिनेटमा माल्दिभ्सका कप्तान अकरम अब्दुलले फ्रिकिङमार्फत गोल गरेका थिए । डिबक्सबाहिर प्राप्त फ्रिकिङमा उनको प्रहारलाई नेपालका गोलकिपर किरणकुमार लिम्बुले रोक्ने मौका नै पाएनन् । त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो ।
योसँगै साफ फुटबलमा नेपालले माल्दिभ्सलाई सातौं प्रयासमा पनि हराउन सकेन। यसअघि भएका ६ खेलमा नेपाल जितबिहिन थियो । ७ मध्ये ५ खेलमा माल्दिभ्स विजयी भयो।
नेपाल र माल्दिभ्सबीच समग्रमा साफ च्याम्पियनसिप, साग गेम्स, एएफसीका प्रतियोगिता र अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेल गरी कुल १६ प्रतिस्पर्धा भएको छ। जसमा नेपालले ४ खेलमा जित र ४ खेलमा बराबरी खेलेको छ। ८ खेलमा भने नेपाल पराजित भएको छ।
नेपालले माल्दिभ्सलाई सन् १९९९ देखि पराजित गर्न सकेको छैन। नेपालले पछिल्लो पटक सन् १९९९ को साग गेम्सको खेलमा माल्दिभ्सलाई २–१ गोलले हराएको थियो। त्यसपछि नेपालले १९ वर्ष माल्दिभ्सबिरुद्ध जित निकाल्न सकेको छैन।