पूर्वाञ्चल खबर
आज भएको दोस्रो खेलमा २ सय १७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले सवै विकेट गुमाएर २ सय १५ रन मात्रमा सिमित भए पछि नेपाल १ रनले विजयी भएको हो । योसँगै २ खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । यसअघि बुधबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ५५ रनले पराजित गरेको थियो ।
अन्तिम ओभरमा नेदरल्यान्डलाई जितका लागि ६ रन चाहिएको अवस्थामा कप्तान कप्तान पारस खड्काले ४ रन मात्र खर्चेका थिए । सुरुवाती ५ बलमा नेदरल्यान्ड्सले ४ रन लिएपछि जितका लागि अन्तिम बलमा २ रन चाहिएको थियो । तर अन्तिम बलमा क्लासनलाई पारसले रनआउट गरेपछि नेपालले ऐतिहासिक जित हात पारेको हो ।
नेदरल्यान्ड्सका लागि वेस्ले बारेसीले सबैभन्दा बढि ७१ रन जोड्दा डेर ब्राकले ३९ रन , बेन कुपरले १९ रन र कप्तान पिचर सिलारले २१ रन जोडे । नेपालका सन्दीप लामिछानेले ३ विकेट र ललित भण्डारीले २ विकेट लिँदा सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे। सन्दिपले १० ओभरमा ४३ रन दिएका थिए ।
यस अघि नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै ४८ ओभर ५ बलमा सवै विकेट गुमाई २ सय १६ रनको सामान्य योगफल जोडेको थियो ।
नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका छन् । पारस ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाउँदा सोमपालले । आक्रामक ब्याटिङ गर्दै ४६ बलमा ५ चौका र ३ छक्काको मद्धतमा ६१ रन बनाए । पहिलो खेलमा अर्ध सतक प्रशार गरेको उप–कप्तान ज्ञानेन्द्र मल्लले १३ आउट हुन पुगे । त्यस्तै सुवास खकुरेल र दिपेन्द्रसिंह ऐरीले समान १९ रन जोडे । एकदिवसीय क्रिकेट इतिहासकै चौथा कान्छा खेलाडी रोहितकुमार पौडेलले पनि आफ्नो प्रभाव पार्न सकेनन् । उनी १५ बल खेलेर ६ रन बनाएर आउट भए ।
आरिफ शेख ४६ बलमा १६ रन बनाउँदा आउट भए । ९ बल खेलेका बसन्त रेग्मी एक रन बनाएर आउट भए । सन्दीप लामिछानेले २२ बलमा ८ रन र ललित भण्डारीले ९ बलमा ४ रन बनाए ।
नेदरल्याण्ड्सका फ्रेड क्लासेनले ३ विकेट, पिटर सिलर र मिचेल रिप्पोन २ विकेट तथा पोउल भ्यान मेकेरिन र शेन स्यान्टनरले १–१ विकेट लिए । नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । शक्ति गौचन, शरद भेषावकर र करण केसी तीन खेलाडी परिवर्तन गरी सुवास खकुरेल, रोहितकुमार पौडेल र ललित भण्डारीलाई मौका दिएको छ ।