पूर्वाञ्चल खबर
प्रहरी नियन्त्रणमा रहेका सबै ३० जनाको बयान मंगलबार जिल्ला अदालतले टुंग्याएको छ । सोमबारसम्म २७ जनाको बयान सकिएकामा मंगलबार थप तीन जनाको बयान लिइएको हो । प्रतिवादीका पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या बढी हुने अनुमानका आधारमा थुनछेकको बहस कम्तीमा पनि एक सातासम्म चल्ने सम्बद्ध कानुन व्यवसायीको अनुमान छ ।
सबै अभियुक्तको बयान न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा लिइएको हो । अदालतले गत बिहीबारदेखि बयान लिन सुरु गरेको थियो । पाँच दिनको अवधिमा सबैको बयान सकिएको हो । यस क्रममा कतिपयले प्रहरीमा दिएकै बयान दोहोर्याएका छन् भने अधिकांशले बयान फेरेका छन् । मोरङ बार एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र थापाका अनुसार प्रहरीले अभियोगपत्रमा उल्लेख गरेको बयानभन्दा फरक विवरण अभियुक्तहरूले अदालतसमक्ष दिएका छन् ।
मंगलबार तत्कालीन बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउतको बयान लिएसँगै बयान प्रक्रिया पूरा भएको हो । यसअघि पूर्व डीआइजी गोविन्द निरौला, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा र जवान विष्णुबहादुर खडकाको बयान लिइएको थियो । यसैगरी विमानस्थलका कर्मचारीहरू राजन थापा, पुण्य लामा, गोपाल श्रेष्ठ, हेमन्त गौचन, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारूको बयान सकिएको थियो ।
बयान लिइएकामा राजन कुमार, टेकराज मल्ल ठकुरी, माधव भन्ने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा र कृष्ण भन्ने नरेन्द्र कार्की छन् । त्यसैगरी व्यापारी भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य र महावीर गोल्यान, विमानस्थलका कर्मचारीहरू लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी र बालकृष्ण श्रेष्ठको बयान लिइएको थियो ।
सबैको बयान सकिएको उल्लेख गर्दै रजिस्ट्रार नवराज दुलालले बिहीबारदेखि थुनछेकको बहस हुने जनाए ।
बयान दिने प्रहरीका उच्च अधिकारीले आफूहरूमाथिको आरोप अस्वीकार गरेका छन् । विमानस्थलका कर्मचारीहरूले सुन आएकोबारे आफूहरूलाई केही थाहा नभएको अदालतसमक्ष बताएका छन् । आफूहरूले कार्यालयको कर्मचारीका हैसियतमा पूरा गर्नुपर्ने जिम्मेवारी मात्र निर्वाह गरेको उनीहरूको भनाइ थियो । प्रहरीले अभियोगपत्रसाथ प्रस्तुत गरेको बयानलाई उनीहरूले अदालतसमक्ष इन्कार गरेका छन् । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कुल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन् । प्रहरीले मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सहित फरारको खोजी गरिरहेको जनाएको छ ।
जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत बुधबार १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरूविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गरेको थियो । अाजकाे कान्तिपुर दैनिकले छापेको छ ।