पूर्वाञ्चल खबर
पदाधिकारी मनोनयन गर्न सभापति शेरबहादुर देउवाले सोमबार निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक डाकेका थिए । तर वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सहमति र विधानविपरीत पदाधिकारी मनोनयन प्रस्ताव गर्न लागिएको भन्दै बहिष्कार गर्ने चेतावनी दिएपछि देउवाले २१ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
विधानअनुसार सभापतिले निर्वाचित कार्यसमितिमा पदाधिकारी मनोनयन प्रस्ताव गर्नुपर्ने व्यवस्था छ । विधानको दफा ४९ को विविध खण्डको १९ नम्बरमा ‘पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग/समिति/विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने’ व्यवस्था छ ।
देउवा १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भएको दुई वर्ष डेढ महिना बितेको छ । उनले विधानको उक्त व्यवस्था निलम्बन वा संशोधन नगरीकनै पदाधिकारी मनोनयन प्रस्ताव अघि बढाउन लागेपछि विवाद चुलिएको हो । उनले आइतबारको बैठकमा विधानविपरीत गठन भएका केन्द्रीय कार्यसम्पादन समिति पुनर्गठन र संसदीय समिति विघटन गरेका थिए । विधानले तोकेभन्दा बढी सदस्य राखेर गठन गरिएका यी दुवै समिति विघटन गर्न पौडेल र सिटौला पक्षले माग गरेका थिए ।
देउवाले परम्परा र नजिरका आधारमा पदाधिकारी मनोनयन प्रस्ताव गरेका हुन् । तत्कालीन सभापति सुशील कोइरालाले सहमहामन्त्री र पार्टीका विभाग गठन गर्दा पनि विधान पालना नभएको तर्क देउवापक्षको छ । कोइरालाले पनि दुई वर्षपछि मात्रै सहमहामन्त्री र विभाग गठन गरेका थिए । ‘त्यतिबेला प्रश्न नउठाउने अहिले आएर विधानको कुरा उठाउने काम पूर्वाग्रह मात्रै हो’ देउवाले भन्दै आएका छन् ।
पौडेल र सिटौला पक्षले एकलौटी रूपमा पदाधिकारी मनोनयन गरिए बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए । ‘सभापतिले साथीहरूबीच भएको सहमति र विधानको व्यवस्थाविपरीत कदम उठाउन थालेपछि हामीले बैठक बहिष्कार गर्ने निर्णय गरेका हौं,’ पौडेलले कान्तिपुरसँग भने, ‘विधानविपरीत गठन भएका समिति विघटन गरेको अवस्थामा त्यही बाटोबाट अघि बढ्नु सहमतिको भावनाविपरीत हुन्छ ।’
निर्वाचन समीक्षासम्बन्धी १३ दिनसम्म चलेको बैठक सर्वसम्मतिबाट अन्त्य गर्न प्रयत्न गरेका देउवाले पदाधिकारी मनोनयनका लागि भने पौडेल र सिटौला पक्षसँग सल्लाह नै नगरी बैठक डाकेका थिए । यसलाई लिएर संस्थापनइतर पक्ष असन्तुष्ट बनेको थियो । पौडेलपक्ष मनोनयन हुने तीन पदाधिकारीमध्ये सहमहामन्त्री आफ्नो समूहले पाउनुपर्ने अडानमा छ । पौडेलले पुरानै नजिरका आधारमा सहमहामन्त्री आफ्नो पक्षलाई दिन देउवालाई आग्रह गर्दै आएका छन् । तत्कालीन सभापति कोइरालाले तीन पदाधिकारीमध्ये सहमहामन्त्री देउवापक्षलाई दिएका थिए । तर, देउवा पौडेलपक्षलाई सहमहामन्त्री दिन तयार छैनन् । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।