१८ मंसिर,विराटनगर/नेपालमा समेत इच्छा मरण ऐनको आवश्यकता रहेको विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनका अभियानकर्ताले बताएका छन ।
पुर्व मन्त्री,सभाषद, वकिल र पत्रकार समेत सहभागि रहेको एक अभियान समुहले आज विराटनगरमा पत्रकार सम्मेलनको अयाोजना गरेर इच्छा मरणको बिषयमा आफ्ना विचार राख्दै सुझाव संकलन गरेको हो ।
बढदो पारिवारिक विचलन र निको न हुने रोग लागेर असक्त भएका जेष्ठ नागरीकहरुलाई इच्छा मरणको अधिकार दिइनुपर्ने पत्रकार सम्मेलनमा सहभागि समाजका अगुवा ब्यक्तित्वहरुको भनाई थियो ।
पूर्व पर्यटन मन्त्री समेत रहेका कुबेर शर्माले निको नहुने रोग लागेका,हेरचाह गर्ने पारिवारिक सदस्य नभएका र खर्च गर्दा पनि उपचार सम्भव नभएका ब्यक्तिहरुलाई इच्छा मरणको अधिकार दिइनुपर्ने बताए । उनले स्वीटजरल्याण्ड,नेदरल्याण्ड र बेल्जीयममा ब्यक्ति बिशेषलाई इच्छा मरणको अधिकार दिइएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा सहभागि अर्का अभियानी र पेशाले वकिल रहेका कृष्णप्रसाद भण्डारीले इच्छा मृत्यूको ब्यवस्था गर्दा त्यसको दुरुपयोग समेत हुनसक्ने भएकाले त्यसतर्फ समेत सचेत रहनुपर्ने बताए । उनले ब्यक्ति बिशेषलाई प्रभावित गरेर इच्छा मृत्यू वरण गराएर मानव अंगको बेचविखन हुनसक्ने तर्फ समेत सजग रहनुपर्ने बताउनुभयो ।
कुनै पनि ब्यक्ति इच्छा मृत्यू चाहेको खण्डमा उसको सहमतिको साथै चिकित्सकहरुको एउटा टीम गठन गरेर उनिहरुको सिफारिसको आधारमा इच्छा मृत्यु दिने प्रावधानको ब्यवस्थागर्न सकिने बताएका छन् ।
कार्यक्रमका सहभागि अन्य वक्ताहरुले मानिसको शरिर माथि आफ्नै अधिकार हुने भएकाले उसको इच्छा मान्य हुनुपर्ने बताएका थिए । हाल मेचीदेखि महाकालीसम्म इच्छा मरणको बिषयमा सुझाव संकलन गर्ने काम भइरहेको अभियानकर्ताहरुले जनाएका छन ।