विराटनगर / बाटो छेकेर सीएनआई कोशी एक्स्पो आयोजना गरिएको भन्दै परेको रिट निवेदनमाथि शुक्रबार भएको सुनुवाईमा उच्च अदालत विराटनगरले एक्स्पो रोक्ने उदेश्यले निवेदकका तर्फबाट माग गरिएको निषेधाज्ञाको आदेश दिएन ।
उच्च अदालत विराटनगरका न्यायधीस किरणकुमारी गुप्ताको एकल इजलासले निवेदनको माग बमोजिम आज विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा आयोजित एक्स्पोमा सार्वजनिक सडकको आवागमन रोकिने गरी एक्स्पो आयोजना गरिएको भन्दै विराटनगर–९ का विन्दा नन्द नुन्दीले बिहीबार उच्च अदालत विराटनगरमा निषेधाज्ञा, उत्प्रेषण र परमादेशको माग गर्दै रिट निवेदन दिएका थिए ।
न्यायधीस गुप्ताको इजलासले विपक्षीहरु जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, नेपाल उद्योग परिसंघ प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश दिएको हो ।आर्थिक मन्दी छाएको बेलामा एक्स्पोका माध्यमबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै उक्त स्थानमा रहेको निजी खाली जग्गामा एक्स्पोको आयोजना गरिएको थियो । सडकको दुईपटी रहेको खाली जग्गा मध्ये एउटामा जग्गामा मात्रै एक्स्पोका सवै संरचना नअट्ने भएपछि करीव ५० मिटर सडकलाई स्थानीय तह र सुरक्षा निकायसँगको समेत समन्वयमा बन्द गरिएको थियो ।
बन्द गरिएको सडक खण्डमा घरहरु नभएको र नजिकैबाट वैकल्पिक सडकको व्यवस्था भएको अवस्थामा त्यसले आवागमनमा कुनैपनि कठिनाई नहुने निश्कर्षमा सवै निकाय पुगेका थिए ।
उच्च अदालत विराटनगरमा बिहीबार निषेधाज्ञाको माग गर्दै रिट निवेदन दर्ता भएपछि एक्स्पो नै प्रभावित हुने हो कि भन्नेमा उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका थिए । तर अदालतले रिट निवेदक वादी पक्षको तर्फका कानुन व्यवसायीहरुको माग अपर्याप्त हुने भन्दै निषेधाज्ञाको आदेश नहुने ठहर गरेको हो ।
बैंकको चर्को व्याज, बीमा कम्पनीको चर्को प्रिमियन र विद्युत प्राधिकरणको अघोषित लोडसेडिङको मारमा रहेको उद्योगी व्यवसायीहरुले साहस गरेर आयोजना गरिएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।
उनले अदालतको आदेशले निजी क्षेत्रले चुनौति मोलेर आयोजना गरेको करोडौं लगानी भएको एक्स्पोलाई नियमित रुपमा अघि बढाउन ठुलो राहत भएको जानकारी दिए । घिमिरेले अदालतले दिएको कारण देखाउ आदेशलाई तोकिएको म्यादभित्र ससम्मान रुपमा जवाफ दिने बताए ।
यसैबीच बिहीबार उद्घाटन भएको सीएनआई कोशी एक्स्पोको दोस्रो दिन आज शुक्रबार पप संगीतका चर्चित स्टार सविन राई र उनको फारोह ब्याण्डको प्रस्तुति रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया