पुष्पराज थपलिया
१५ मंसिर,विराटनगर/सुत्केरीको मृत्यु भएको विषयलाई लिएर बुधबार दिनभर कोशी अञ्चल अस्पताल विराटनगर तनावग्रस्त बन्यो ।
कोसी अस्पतालमा सोमबार शल्यक्रिया गरेर बच्चा निकालिएकी विराटनगर १० हाटखोलाकी २१ वर्षीय कमला लुइँटेल अधिकारीको आज विहान धरानमा मृत्यु भएको थियो । कमलाका आफन्त अस्पताल विरुद्ध नाराजुलुस गर्दै विरोधमा उत्रदा अवस्था तनावपूर्ण बनेको हो । महिला तथा प्रसूति रोग विशेषज्ञ डा. मेलुना भुषाल नेत्रृत्वको चिकित्सक टोलीले कमलाको शल्यक्रिया गरेर बच्चा निकालेका थिए ।
शल्यक्रिया गरेर बच्चा निकालिए पनि बढी रक्तश्राव भएका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सुत्केरी युवतीलाई थप उपचारका लागि हिजो साँझ धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । शल्यक्रियाका क्रममा लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनु पर्ने, मृतकबाट जन्मिएको छोरालाई शिक्षा दीक्षा र भरणपोषणको व्यवस्था अस्पतालले गर्नु पर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति र किरिया खर्च दिनु पर्ने, आगामी दिनमा यस्ता घटना दोहो¥याउन नहुने, सर्वसाधारणको उपचारमा लापरवाही गर्न नहुने लगायतका माग राखेर आफन्त विरोधमा उत्रिएका थिए ।
समस्या समाधानका लागि भन्दै अस्पताल प्रशासन र पीडित पक्षबिच भएको बार्तामा दुई पक्षिय सहमति भएपछि आफन्त मृतकको शव लैजान राजी भएका छन् । बार्ताका क्रममा घटनाका बारेमा २४ घण्टा भित्र छानविन गरेर शल्यक्रियाका क्रममा गल्ती गर्ने चिकित्सक र स्वास्थ्यकर्मीमाथि कारवाही गरिने, नवजात शिशुलाई शिक्षा दीक्षा र भरणपोषण तथा पीडित परिवारलाई क्षतिपूर्तिका लागि स्वास्थ्य मन्त्रलायमा सिफारिस गर्ने, आगामी दिनमा यस्तो गल्ती नहो¥याउने लगायतका लिखित प्रतिबद्धता अस्पतालले जनाएको छ ।
यही घटनालाई लिएर अस्पताल प्रशासनले कमलाको शल्यक्रियामा संलग्न रहेका चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले घटनाको छानविन थालिएको बताउँदै भने, ‘छानविन प्रतिवेदन नआउनजेल सम्मका लागि शल्यक्रिया गर्ने सबै स्वास्थ्यकर्मीलाई काम गर्नबाट रोक लगाइएको छ ।’
पोखरेलले त्रुटिकै कारण सुत्केरीको मृत्यु भएको निस्कर्ष निकालिएका कारण छानविन प्रतिवेदनले दोषी देखाएमा शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीमाथि कारवाही अघि बढाइने बताए । उनले स्वास्थ्यकर्मीकै लापरवाहीका कारण हुने यस्ता घटना रोक्न र आगामी दिनमा दोहोरिन नदिन अस्पताल सतर्क रहने प्रतिवद्धता जनाएका छन् ।