पूर्वाञ्चल खबर
दुहबी ३ कोशी राजमार्गमा आज बिहान ८ बजे भएको बस दुर्घटनामा परी बराह नगरपालिका ६ बस्ने ५५ बर्षिय डेगराज रिजालको मृत्यू भएको हो । धरानबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ९८६० नम्बरको बसले ठक्कर दिंदा सडक छेउको चिया पसल अगाडि उभिरहेका रिजालको मृत्यू भएको हो । मृतकको शव विराटनगरस्थित कोशी अंचल अस्पतालमा राखिएको छ ।
सो दुर्घटनामा बराह नगरपालिका ६ बस्ने सन्तोष कोइराला र दुहबी ४ का रबिन चौधरी समेत घाईते भएका छन । उनीहरुको विराटनगरस्थित न्युरो र गोल्डेन अस्पतालमा गम्भीर अवस्थामा उपचार भईरहेको जनाइएको छ । विराटनगरतर्फ आउदै गरेको बसले साईकल यात्री रबिन चौधरीलाई जोगाउने क्रममा सडक छेउमा उभिएका रिजाल र कोइराला समेतलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शैलेस न्यौपानेले जानकारी दिए । ठक्कर दिने बस र चालक उर्लाबारी ३ का प्रकाश खवासलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।