‘राजनीतिमा महिला सहभागिताकालागि महिला एकजुट हुनुपर्छ’
पूर्वाञ्चल खबर
१२ मंसिर २०७३, आईतवार १९:४५
3
Shares
१२ मंसिर, विराटनगर/ निर्वाचन तथा राजनीतिमा महिला सहभागिता बढाउन सम्पूर्ण महिलाहरु एक ठाउँमा उभिनुपर्नेमा सरोकारवालाहरुले जोड दिइएको छ ।
जागरण नेपालको आयोजनामा आज विराटनगरमा भएको निर्णायक तह निर्वाचन र राजनीतिमा महिला सहभागिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा एमाले मोरङका अध्यक्ष महेश रेग्मीले महिलाहरु जुन पार्टीमा आवद्ध भएपनि आफ्नो हक, अधिकार स्थापित गर्न एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा महिला अधिकार, राजनीति, निर्वाचन तथा निर्णायक तहमा महिला सहभागिताको विषयमा डाक्टर शिवमाया तुम्वाहाङफेले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले नेतृत्व विकास गर्न, नीति निर्माणमा महिला सहभागिता बढाउन र महिलाको पहिचान स्थापित गर्न राजनीतिमा महिला सहभागिता अनिवार्य रहेको बताइन् ।
अहिले पनि नेतृत्व तहमा सहभागिता न्यून रहेको भन्दै सबै राजनीतिक दलहरुले महिलाहरुलाई प्राथमिकता दिनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका मोरङ सचिव नागेश कोइराला, नेकपा माओवादी केन्द्रका सुशील उप्रेतीलगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायका प्रमुखहरुको सहभागिता थियो ।